कोभिडबिरुद्धको खोप नेपालमा छिटै आउने संकेत, स्वास्थ्यले माग्यो स्वास्थ्यकर्मीको विवरण

काठमाडौँ, २० पुस ।  कोभिड -१९ बिरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप दिने योजना बनाएको सरकारले संख्या एकीन गर्न देशभरबाट अध्यावधिक विवरण माग गरेको छ । स्वास्थ्य मन्त्रालयले त्यसको लागि आवश्यक सहजिकरण गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र मार्फत आग्रह गरेको छ ।

स्वास्थ्यले पठाएको पत्रमा तीन दिन भित्र अध्यावधिक विवरण पठाउन भनिएको छ । सामान्यलाई त्यसका लागि सहजीकरण गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञस्तरको निर्णय अनुसार भएको भनिएको पत्रमा अग्रपंक्तिमा खटिने सरकारी स्वास्थ्य संस्था तथा नियमपूर्वक दर्ता भएका निजी क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको समेत हालको अध्यावधिक विवरण ३ दिन भित्र छिटो माध्यमबाट पठाउन प्रमुख विशेषज्ञस्तरको निर्णय भएको उल्लेख गरिएको छ ।

विवरणमा नाम थर, उमेर लिंग परिषद दर्ता नं पद र कार्यरत संस्था उल्लेख गर्न भनिएको छ ।

भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको दुईवटा खोपले त्यहाँ अनुमति पाएसंगै नेपालमा तयारी तिब्र पारिएको छ ।

मन्त्रालय उच्चस्रोतका अनुसार भारतमा खोप शुभारम्भ गर्दा नेपालमा पनि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई दिने योजना अघि बढेको छ । त्यसका सरकारले कुटनीतिक पहललाई तिब्रता दिएको छ ।

भारतमा तयार भएको खोप भण्डारण व्यवस्था समेत सजिलो भएको बताइएको छ । २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा राख्न सकिने सो खोप नेपालमा आए एकैपटक २० प्रतिशत जनताका लागि अर्थात ६० लाख डोज भण्डारण गर्न सकिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *