‘पीजी’को एकीकृत प्रवेश परीक्षा सुरू, ७ हजार ६८२ जना परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ, १९ पुस । नेपालमा पहिलो पटक चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पोष्ट ग्राजुएट्स पीजी) तहको एकीकृत प्रवेश परीक्षा शुरु भएको छ । चिकित्सा शिक्षा आयोगले शनिबार (हिजो) देखि परीक्षा लिन शुरु गरेको हो । परीक्षा सोमबार (भोलिसम्म) चल्नेछ ।

आयोगका निर्देशक डा दिलिप शर्माका अनुसार पहिलो पटक लिइएको एकीकृत प्रवेश परीक्षामा सबै कार्यक्रमका लागि कुल ७ हजार ६७२ जना सहभागी हुँदैछन् । हिजो पहिलो दिन ६ हजार ३२८ जना परीक्षार्थी सहभागी भएको उनले बताए । त्यसमा केही विदेशी विद्यार्थी समेत रहेको जानकारी दिए ।

आयोगले हिजो काठमाडौँ र ललितपुरका कुल १७ स्थानमा २२ वटा परीक्षाकेन्द्र सञ्चालनमा ल्याएको थियो । प्रवेश परीक्षा विहान ११ देखि दिउसो २ बजेसम्म तीन घण्टा तोकिएको छ ।

‘यो परीक्षा यसअघि असोज २६, २७ र २८ गतेका लागि तोकिएको थियो । तर परीक्षाकै विषयमा ८ वटा छुट्टा छुट्टै रिट सर्वोच्च अदालतमा परेपछि तोकिएको समयमा परीक्षा हुन रोकिएको थियो । गत महिना सर्बोच्चले रिट खारेज गरिदिएपछि आयोगलाई परीक्षा लिने बाटो खुलेको हो,’ डा शर्माले भने ।

आयोगले चिकित्साशास्त्रको स्नातकोत्तरमा तहमा अध्ययन् गर्न आरक्षणको सिट छुट्याएपछि पक्ष र विपक्षमा बहस भएका थिए । सर्बोच्च अदालतमा पनि आरक्षणकै विषयलाई केन्द्रविन्दुमा राखेर रिट परेका थिए ।

डा शर्माले परीक्षाको नतिजा आगामी मंगलबारसम्म आइसक्ने बताए । कम्प्युटर विधिबाट परीक्षार्थीको कापी जाँच गरिने भएका कारण नतिजा आउन ढिलाई नहुने उनले स्पष्ट पारे ।

यसअघि स्नातकोत्तर पढ्नका लागि विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानले छुट्टा छुट्टै रुपमा प्रवेश परीक्षा लिएर विद्यार्थीको भर्ना लिने गर्दथे । तर अब जुन सुकै विश्वविद्यालय वा प्रतिष्ठानमा चिकित्सशास्त्र तर्फको स्नातकोत्तर तह अध्ययन गर्न यहि एउटा परीक्षा दिए पुग्ने भएको छ ।स्वदेशमा पढ्न मात्रै होइन विदेशमा पढ्न जानका लागि पनि यो परीक्षा पास गरेकै हुनुपर्छ । नत्र इलिजिविलिटी लेटर पाउन सकिदैन्.’ डा शर्माले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *