बीबीसी । अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ। कम्पनीले आउँदो सातासम्ममा ५ लाख ३० हजार डोज खोप बेलायत सरकारलाई उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ ।उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ।
बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ। यसअघि डिसेम्बरको सुरुतिर फाइजर/बायोएन्टेकले बनाएको खोप कोभिड -१९ विरुद्ध प्रयोग हुन थालेको थियो।
चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड-१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन्।
बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो।
अर्को सातादेखि खोप दिन थालिने
बेलायतका स्वास्थ्यमन्त्रीले जनवरी ४ देखि यो खोप दिन थालिने बताएका छन्।
उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ। बेलायतले एस्ट्राजेनेकाबाट मगाएको खोपको मात्रा पाँच करोड मानिसका लागि पर्याप्त छ।
औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो। अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत एप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो।
त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो।
यस्ता छन् विशेषता अहिलेसम्म बेलायतमा छ लाखभन्दा बढी मानिसले फाइजर-बायोएन्टेकको खोप लगाइसकेका छन्।
अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सस्तो र एकैचोटि ठूलो मात्रामा उत्पादन गर्न सकिने भएकाले खोप लिने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
यो खोप २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा अर्थात सामान्य फ्रिजमा भण्डारण गर्न सकिन्छ ।
तर फाइजर-बायोन्टेकको खोपलाई – ७० डिग्रीको तापक्रममा राख्नुपर्ने बाध्यता छ।
कसले पाउँछन् खोप मंगलबार मात्रै बेलायतमा ५३ हजार १३५ नयाँ केश भेटिएको छ । जो मास परीक्षण अभियान शुरु गरे यताकै एकै दिन देखिएको ठूलो संख्या हो । यस्तै पछिल्लो २८ दिनमा ४१४ जनाले ज्यान गुमाएका छन् । यसले पनि सरकारको प्राथमिकता सकेसम्म बढी मानिसलाई सहभागी गराउने नै हुनेछ ।
जोखिममा परेका मानिसलाई सकेसम्म धेरै सङ्ख्यामा कोभिड-१९ बाट जोगाउन खोपको पहिलो मात्रा उपलब्ध गराउने सरकारको लक्ष्य छ।
खोपसम्बन्धी विषय हेर्ने एउटा सरकारी समितिको सुझावमा यो निर्णय लिइएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार छोटो अवधिमै खोपको दोस्रो मात्रा उपलब्ध गराउनुको साटो अहिले जोखिमयुक्त समूहका मानिसलाई पहिलो मात्रा दिने कुरालाई प्राथमिकता दिइनेछ।
‘सबै जनाले खोपको पहिलो मात्रा लिएको १२ साताभित्र दोस्रो मात्रा लिन पाउनेछन्। दोस्रो मात्राले खोपको मात्रा पूरा गर्नेछ र दीर्घकालीन सुरक्षाका लागि त्यो आवश्यक छ।’
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई
(nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।