चितवन मेडिकल कलेजमा न्युक्लियर मेडिसिन सेवा शुरु

चितवन, ६ पुस । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो ।

कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दाबी गरेको छ । अमेरिका, बेलायत र क्यानाडाजस्ता देशमा समेत सर्वसुलभरूपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।

यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने काठमाडौँ उपत्यकासहित देशैभरबाट बिरामी आउने उहाँको भनाइ छ । अस्पतालले उपकरण र जडान गरी करिब रु १४ करोड खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिए ।

अस्पतालको न्युक्लियर मेडिसिन विभाग प्रमुख डा जीवन पौडेलका अनुसार यस सेवा शुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गौला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अङ्गको गहन जाँच सम्भव हुन्छ । चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ । पौडेलले भने, “अबको समयमा थाइराइड क्यान्सरलगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ । थाइराइडका गलगाँडको बिना अपरेसन सफल र स्थापित उपचार हुन्छ ।”

यस सेवाअन्तर्गत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नसाबाट दिएर त्यसबाट निस्कने गामा विकिरणलाई स्पेक्ट सिटीको माध्यमबाट जाँच हुन्छ । यसबाट शरीरका विभिन्न अङ्गको गहन जाँच सम्भव हुने डा पौडेलको भनाइ छ । थाइराइड क्यान्सरको समेत पूर्णरूपमा सफल उपचार हुने उनले जिकिर गरे ।

न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा विद्यावारिधि गर्नुभएका डा अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी यहाँ आउने बताए । उनले भने,“भारतमा पनि बल्ल यो उपकरण भित्रिने चरणमा छ ।”

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) शुरु भएसँगै अस्पतालमा थाइराइडको ‘कम्प्रिहेन्सिभ थाइराइड केयर क्लिनिक’ सञ्चालन गर्न लागिएको बताए । यसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सरलगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उनको भनाई छ ।
वार्षिक चार लाख हाराहारी बिरामीको उपचार गर्दै आएको यस मेडिकल कलेजले आकस्मिक सेवासँगै सिटीस्क्यान, एमआरआइ, क्याथल्याबसहितको विशिष्ट सेवा दिँदै आएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गरेको देवकोटाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *