कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा

बीबीसी । यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्।

नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्।

आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।

देश अनुसार कदमहरू केही फरक छन्। फ्रान्सेली कदमबाट युरोटनेलमार्फत्‌ हुने रेल सेवा पनि प्रभावित भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ।

पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।

यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बताएको छ।

कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन।

तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण-पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन्।

यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो।

द नेदरल्यान्ड्समा ‘भाइरसको नयाँ प्रकार फैलिने जोखिम न्यूनीकरणका लागि सम्भव भएसम्मका प्रयास गर्नुपर्ने’मा डच सरकारले जोड दिएको छ।

यूकेबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिमलाई थप सीमित पार्ने दिशामा युरोपेली सङ्घका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ।

नयाँ रणनीतिहरू तय गर्न सोमवार युरोपेली सङ्घका राजदूतहरूले आपत्‌कालीन बैठक गर्दैछन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *