पाँचौँ ‘एपी-क्याट’ सम्मेलन ‘भर्च्युअल’ विधिबाट सम्पन्न

काठमाडौँ, २ पुस ।  सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ शिखर सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

गत बर्ष असोजमा इन्डोनेसियाको बोगर सिटीमा सम्पन्न एपीक्याटको चौथो सम्मेलनले पाँचौ सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गरेको थियो । सो अनुसार भरतपुर महानगरले गत पुसको दोस्रो साता चितवनको भरतपुरमा १६ देखि १८ मंसिर २०७७ (१ देखि ३ डिसेम्बर २०२०) मा गर्ने निर्णय गरेको थियो । त्यसबेला भरतपुरमा हुने पाँचौँ सम्मेलनमा १५० बढी विदेशी सहित ३०० बढीको सहभागिता हुने बताइएको थियो । तर विश्वभर देखिएको कोरोना महामारीको कारण सम्मेलन भौतिक रुपमा भेला नभई भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।

पाँचौँ सम्मेलन आयोजक समितिका सभापति एवं भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले विश्वभर देखिएको कोरोनाका कारण गतवर्ष घोषणा गरेजसरी सहभागीहरुलाई चितवनमा स्वागत गरी कार्यक्रम गर्न नपाइएको बताइन । तर, उनले  गतवर्ष बोगर सिटिमा भएको सम्मेलनमा गरेको प्रतिवद्धता अनुसार महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी विभिन्न गतिविधि गरेको बताइन ।

महानगर भित्र सार्वजनिक स्थानमा सुर्तीजन्य प्रयोगमा निषेध गरिएको, त्यस सम्वन्धी सूचनाहरु टास गरिएको, सञ्चारकर्मीहरुसंग यसबारेमा अन्तरक्रिया गरिएको जानकारी दिइन । उनले कोभिड महामारीपछि महानगरले महामारी रोक्नका लागि गरेका गतिविधिबारे समेत बताइन ।

कार्यक्रममा इन्डोनेसियाका स्वास्थ्य मन्त्री प्राडा मुहाफिर इफन्डिए, म्यानमारका स्वास्थ्य मन्त्री डा माइन्ट वाई, इन्डोनेसिया स्वास्थ्य मन्त्रालयका महासचिव डा ओस्कार प्रिमोडी लगायतले बोलेका थिए ।

यस्तै कार्यक्रमका ‘को – चियर’ बनेका फिलिपिन्सका फ्रान्सिस ए ग्रासिया, व्लुम्बर्ग फिलान्थ्रोपिकका क्यालि लार्सन, विश्व स्वास्थ्य संगठनका डा गुई फोनिस, द युनियनका डा गुई मार्कस,  डा तारासिंंह बम लगायतले कोभिड -१९ को महामारी र सुर्तीजन्य पदार्थ नियन्त्रणको सन्दर्भ जोडेर बोलेका थिए ।

सम्मेलनले ६ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *