इन्डोनेसियामा कोरोनाबिरुद्धको खोप लगाउन सुरू, पहिलो डोज राष्ट्रपतिलाई

जकार्ता । इन्डोनेसियामा बुधबारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको शुरुआत गरिएको हो ।

त्यहाँ चीनको सिनोभ्याक बायोटेकले बनाएको लगाउन शुरु गरिएको हो । डिसेम्बर महिनाको शुरुवातमै चीनबाट १२ लाख भाइल खोप जकार्ता पठाइएको थियो । तर त्यहाँको सरकारले खोप प्रयोगको अनुमति दिन ढिलाई गर्दा शुरुवात हुन केही समय लागेको सरकारी अधिकारीहरुले बताएका छन् ।उनीहरुले  जनवरीको सुरुवातमै १८ लाख भाइल खोप चीनबाट नै आउने जनाएका छन् ।

बुधबार आफूले खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ ।

इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा उनले भनेका छन्, “कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क लगाइने छ ।”

सरकारले शुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ ।

राष्ट्रपति विडोडोले आफूले खोप लगाउन पाएकोमा खुशी लागेको उल्लेख गरेका छन् । त्यही खुशी सबै नागरिकलाई प्राप्त हुने दाबी पनि उनले गरेका छन् ।

“कुनै नागरिकले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन नपाउने कुनै कारण छैन, यसमा सबै ढुक्क हुनु होला, तपाईहरू सबैले निःशुल्क खोप लगाउन पाउनु हुनेछ,” राष्ट्रपति विडोडोले भने ।

इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको पनि अधिकारीहरूले जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *