विराटनगर : चिसोसँगै क्षयरोगीको सङ्ख्यामा वृद्धि


विराटनगर, ३० मंसिर । नेपालमा क्षयरोग (टिबी)बाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए । अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या बढ्न थालेको कोइरालाले जानकारी गराए ।

समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, मानिसमा चेतनाको कमी हुनु र पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो । मोरङ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार १५० र आव २०७६/७७ को चैत मसान्तसम्ममा ७४१ रोगी शाखामा उपचारका लागि आएका संयोजक कोइरालाले बताए ।

क्षयरोग सुन्ने बित्तिकै बिरामी शुरुमा आत्तिने र डराउने गरेको, आफूहरुलाई सम्झाउन निकै गाह्रो पर्ने गरेको र धेरै मानिसमा क्षयरोगबारे ज्ञान नभएकाले यस्तो समस्या आउने गरेको संयोजक कोइरालाले बताए ।

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । एक क्षयरोगीले उपचार नगराउँदा एक वर्षमा १० देखि १५ जनासम्मलाई सो रोग सर्ने सम्भावना हुन्छ । नियमित क्षयरोगीका बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ छ । उनले यो रोगबाट भयभित हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुन्छ भने ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण हो । ज्वरो आउनु, खान नरुच्नु, छाती दुख्नु र खकारमा रगत देखापर्नु क्षयरोगका लक्षण रहेका छन् । यदि कसैमा यस्ता लक्षणहरु देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न संयोजक कोइरालाले आग्रह गरे ।

क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधिको अभाव नरहेको जनाइएको छ । गत आवमा विराटनगर महानगरपालिकामा १८६ जना क्षयरोगी उपचारमा आएका उनले जानकारी गराए । हालको तथ्याङ्कअनुसार देशभरमा ८० हजारभन्दा बढी क्षयरोगीले उपचार गराइरहेका जानकारी उनले दिए ।

यस्तै सामान्य क्षयरोगको उपचार नगराउँदा वा नियमित औषधि सेवन नगरेमा यो जीर्ण क्षयरोगमा परिणत हुने गर्छ । यो पनि नियमित उपचार गराएर नियमित औषधि सेवन गरेमा निको हुन्छ । जीर्ण क्षयरोगीले २० देखि २४ महिनासम्म औषधि नियमित खानुपर्ने हुन्छ ।

जीर्ण क्षयरोगीको उपचार लामो समयसम्म चलिरहने भएकाले क्षयरोग निवारण संस्था विराटनगरले जीर्ण क्षयरोगीका बिरामीलाई डिआर आभासगृहमा राखी उपचार गराउँदै आएको छ । जीर्ण क्षयरोगी ५६ जनामध्ये हाल १५ जना सो गृहमा बसेर आफ्नो उपचार गराउँदै आइरहेका छन् । सो गृहमा उपचार गराइरहेकालाई खाना र खाजाको समेत व्यवस्था गरिएको छ ।

प्रदेश सरकारको सहयोगमा जीर्ण क्षयरोगी बिरामीका लागि सीपमूलक तालीमहरु सञ्चालन गरिएको छ । जसअन्तर्गत सिलाइ बुनाइ, सवारी चालक, ब्युटी पार्लर, बाँसको मुढा, डोको, साइकल तथा मोबाइल मर्मत र ढाका टोपीजस्ता रहेका छन् । जीर्ण क्षयरोगीको उपचार लामो समयसम्म चल्ने भएकाले यस्ता तालीमले उनीहरुको आत्माबल बलियो हुने, व्यस्त राख्न सक्ने र काम सिकेर आयआर्जनको बाटो रोज्न सक्ने उद्देश्यले गरिएको संयोजक कोइरालाले जानकारी दिए।

यस्तै सामान्य क्षयरोगको उपचार गराउन आएका विराटचौक निवासी कला खनालले यो रोगबारे अझै पनि मानिसमा नकारात्मक सोच रहेको र मानिसमा क्षयरोगबारे चेतनाको कमी रहेको बताए । उनले जानकारीको अभावले क्षयरोगी भएका बिरामी डराउने तथा रोग लागेको कुरा लुकाउने गरेको अनुभवसँगै यो रोगबारे विभिन्न ठाउँमा सरकारले चेतनामूलक र सन्देशमूलक कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै विराटनगर निवासी सीता फुयाँलले पनि क्षयरोग उपचार गराएर नियमित औषधि सेवन गरेमा सजिलै निको हुने रोग हो भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *