१७ जना कर्मचारीमा कोरोना देखिएपछि अछामको जिल्ला अस्पताल सिल
अछाम, २९ मंसिर । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।
“अस्पतलमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छौँ”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मनोज विष्टले भने, “कोरोना अरू व्यक्तिमा नसरोस् भनेर सिल गरिएको हो, निको भएलगतै सबै सेवा सुचारु गर्नेछौँ ।” उनका अनुसार सङ्क्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा छन् ।
अस्पताल सिल गरिएपछि त्यहाँका आकस्मिकबाहेकका अन्य बिरामी उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



