स्वास्थ्य कर कोषको अध्यक्षमा अहिले पनि यादव कोइराला ?

काठमाडौँ, २२ मंसिर ।  स्वास्थ्य कर कोष सचिवालयको अध्यक्ष पदबाट यादवप्रसाद कोइराला विदा भएको ६ महिना नाघि सक्यो तर सचिवालयको वेवसाइट http://htfs.gov.np/मा अहिले पनि उनी नै अध्यक्ष छन् । यस्तै पाँच महिना अघि नै सचिवालयको सदस्यसचिवबाट विदा पाएका पुस्करराज नेपाल सोही पदमा कार्यरत रहेको उल्लेख छ ।

कानूनत सूर्तिकर कोषको अध्यक्ष स्वास्थ्य मन्त्रालयका सचिव हुने व्यवस्था छ । यस्तै सचिवालयको सदस्य सचिव मन्त्रालयकै कानून शाखाका उपसचिव हुने व्यवस्था छ ।

तत्कालिन स्वास्थ्य सचिव कोइराला गत १५ जेठमा स्वास्थ्य मन्त्रालयबाट विदाई भई मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय पुगेर पनि अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइसकेका छन् । उनको ठाँउमा त्यतिवेलै सचिव लक्ष्मण अर्याल आएका हुन् । सचिवालयको अध्यक्षमा त्यतिवेलै देखि अर्याल हुनुपर्ने थियो ।  तर स्वास्थ्य करकोषको वेव साइटमा अहिले पनि कोइराला नै स्वास्थ्य सचिवको रुपमा अध्यक्ष बनेर बसेका छन् ।

यस्तै सचिवालयको सदस्य सचिवको रुपमा अहिले पनि देखिएका  कानून शाखाका उपसचिव पुस्करराज नेपाल परराष्ट्र मन्त्रालयमा सरुवा भएको गत असार १५ तिरै हो । त्यसबेला नै उनको ठाँउमा मानवहादुर बस्नेत आएका हुन् । तर करकोष सचिवालयमा अहिले पनि सदस्य सचिवको स्थानमा पुस्करराज नेपाल देख्न सकिन्छ ।

मन्त्रालयका जिम्मेवार अधिकारी र सचिवालयका अरु पदाधिकारीले पनि आफ्नो सचिवालयको वेवसाइट हेर्न नभ्याउँदा यस्तो भएको हुनसक्ने सरोकारवालाहरु बताउँछन् ।

‘अहिलेका सचिव ज्यू, त्यो वेवसाइट खोल्न भ्याउनु भएको रहेनछ, न त सदस्य सचिवले नै । वहाँहरु मात्रै होइन सचिवालयका अरु सदस्यहरुले पनि हेर्नुहुँदो रहेनछ । नत्र त्यति पक्कै अपडेट गर्नुहुन्थ्यो होला । अब यो समाचार हेर्नुभयो भने पक्कै अपडेट होला,’ मन्त्रालयका एक कर्मचारीले हाँस्दै भने ।

स्वास्थ्य कर कोष सचिवालयले बर्षेनी सुर्तीजन्य पदार्थबाट उठेको करबाट प्राप्त हुने झण्डै ४० करोड रकम सूर्तिको प्रयोगबाट विरामी भएकाहरुको उपचारका लागि तोकिएका अस्पतालहरुलाई अनुदान तथा यसको प्रयोगलाई निरुत्साहित गर्ने कार्यमा खटिने गैर सरकारी संस्थाहरुलाई जनचेतनामुलक कार्यक्रम गर्नका लागि वितरण गर्ने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *