कोभिड -१९ विरुद्धको खोपको ‘मार्केटिङ’का लागि रसियाबाट उच्चस्तरीय टोली आउँदै
काठमाडौँ, १९ मंसिर । अर्को साता देखि आफ्ना नागरिकलाई कोभिड -१९ विरुद्धको खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ संगसंगै शुरु गर्ने भएको छ । अर्कोसाता कोरोना विरुद्ध प्रयोग गर्न आफूले तयार गरेको खोप ‘स्पुटनिक -भि’ को नमूना सहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउँदै छ ।
नेपालस्थित रसियन दुतावासका उच्च अधिकारीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेट गरी सो जानकारी गराएका हुन् । उनीहरुले अर्को साता आउने टोलीले ‘स्पुटनिक-भि’ को ५ हजार भाइल स्याम्पल लिएर आउने भन्दै त्यसको भण्डारणको व्यवस्था गरिदिन आग्रह समेत गरेका छन् ।
‘डिसेम्बर ९ तारिखमा टोली आउँदै रहेछ । उनीहरुले आफूले तयार गरेको खोपको स्याम्पल समेत लिएर आउने जानकारी गराएको छ । हामीसंग त्यसको भण्डारण गरिदिन मात्रै आग्रह गरेको छ । टोलीले त्यसको प्रभावकारिताबारेमा बताउने होला । हाम्रो खोप प्रयोगमा ल्याइदिनुस् भनेर आग्रह पनि गर्ला । तर त्यो गर्ने नगर्ने जिम्मा त नेपाल सरकारको भयो ,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले भने ।
शुक्रबारको भेटघाटमा रसियन टोलीले आफूले उत्पादन गरेको खोप प्रयोगको अवस्था, यसको भण्डारणका विषयमा जानकारी गराएका थिए । उनीहरुले मन्त्रालयका अधिकारीहरुलाई स्पुटनिक भि खोप दुई देखि ८ डिग्री तापक्रम र माइनस १८ डिग्री तापक्रममा राख्न मिल्ने गरी तयार पारिएको जानकारी दिएका थिए ।
नेपालमा अहिले २ देखि ८ डिग्री तापक्रममा रहने खोपको भण्डारण गर्ने क्षमता रहेको छ ।
पछिल्लो बेलायत, रसिया, क्यानडा लगायतका देशहरुले खोप लगाउने प्रतिस्पर्धा शुरु गरेका छन् ।
सम्पर्क इमेल : [email protected]