कोरोना संक्रमण र यसले सिकाएको पाठ

डा.  प्रकाश बुढाथोकी

डा. प्रकाश बुढाथोकी

नेपालमा कोरोना भाइरसको पहिलो केश देखिएपछि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हाम्रो महाशाखा यसको सम्भावित जोखिम आँकलन गर्दै नियन्त्रणको उपायको खोजीमा जुटिसकेको थियो ।

जब मुलुकमा दोस्रो केश देखा पर्‍यो सरकारले चैत्र ११ मा बन्दाबन्दी अर्थात लकडाउन शुरु गरिहाल्यो । त्यसपछि त हामी फिल्डमै उत्रियौँ । मन्त्रालयले प्रदेशमा समन्वय गर्न, कोभिड सेवाहरु— क्वारेन्टिन,आईसोलेसन,अस्पतालको तयारी,सामान तथा उपकरणहरुको उपलब्धताको समन्वय,तयारी तथा अनुगमन र मुल्यांकन गर्न खटाएको थियो । त्यसमा म आफै लामो समय फिल्डमा खटिएको थिएँ ।
…………………………………………

स्वास्थ्य क्षेत्रमै मेरो अर्को महत्वपूर्ण जिम्मेवारी पनि छ । देशभरको चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको कोषाध्यक्ष पनि हुँ । यो महामारीमा अग्रपंक्तिमा खटिने चिकित्सकलाई वा भनौँ आफ्ना सदस्यहरुलाई सुरक्षित राख्दै हौसला प्रदान गरी सेवामा क्रियाशिल गराउनु  मेरो अर्को महत्वपूर्ण जिम्मेवारी  थियो । सोही अनुरुप देशका बिभिन्न स्थानमा पुगेर स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यमा समेत क्रियाशिल थिएँ । सोही अनुरुप अग्रपंक्तिमा खटिएका चिकित्सकहरुलाई संघले श्रोत तथा सहयोगबाट प्राप्त ‘डिग्नीटि किट’ हस्तान्तरण गर्ने अभियानमा समेत सामेल भइरहेको थिएँ ।
……………………………………………

बैशाख जेठ महिनाको समय थियो । त्यसबेलाको प्रदेश नं ५ अर्थात लुम्बिनी प्रदेशमा कोरोनाले महामारीको रुप लिन पुग्यो । मन्त्रालयकै निर्देशनमा त्यहाँको सामाजिक विकास मन्त्रालय,स्वास्थ्य कार्यालय,अस्पतालहरु,प्रयोगशालालाई प्राविधिक सहयोग गर्न तथा समग्र प्रदेश ५ को संघसंग समन्वय गर्न जानु पर्ने भयो ।

कोरोना भन्नासाथ बाटै फरक पार्ने, फर्केर पनि नहेर्ने त्यो समयमा बा“केको नरैनापुर,कपिलवस्तुको यशोधरा,पकडी,रुपन्देहीका सिमा क्षेत्रमा पर्ने हटस्पट ठानिएका स्थानमा स्थानीय निकायमा प्रत्यक्ष संलग्न भई अन्यलाई सुरक्षा साबधानीसहित उदाहरण दिदै जिम्मेवारी पुरा गरेँ । त्यस्तो जोखिमका बेला फिल्डमा काम गर्दा पनि संक्रमणबाट भने आफू सुरक्षित नै रहन सफल भएँ ।

जब म संक्रमणमा परें……..

असोज मध्यतिरको समय थियो । केही लक्षण मिल्न गयो । शंका लाग्यो, परीक्षण गराएँ । मलाई कोभिड – १९ को संक्रमण देखियो ।कहाँबाट कसरी संक्रमण भयो ? एकीन रुपमा पत्तो पाउनै सकिएन ।

सुरक्षा साबधानी हर समय अपनाईरहने भएकाले संक्रमण मलाई अप्रत्यक्ष सम्पर्क या मास्क खोली बैठक र साथीभाईसंग चिया, नास्ता खाँदा बाट भएको हो कि भन्ने अनुमान छ । बैठकमा बस्दा बस्ने टेबल,कुर्सी वा कसैको समाचार वा नम्बर हेर्न प्रयोग गरिएको मोबाईलबाट नै भएको हुनसक्छ ।

काठमाडौँमै थिएँ । असोज ११ गते बेलुका हल्का शरीर तात्यो । विगत ६ दिनरात, घाम पान, विदा पर्व नभनी काममा व्यस्त भएकोले शरीरले आराम खोजेको होला भनेर सुतेँ । सोमबार विहान हल्का ठिक भयो ।

त्यसबेला ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण देखिएको थियो । मंगलबार उनको नजिकका सम्पर्क भएका व्यक्तिहरुको खोजी गरी नमुना लिने कार्यक्रम थियो । म आफै पनि त्यसमा सहभागी भएको थिएँ । तर म आफैले भने नमूना दिइन ।

सोही दिन स्वास्थ्य तालिम केन्द्र, एचआईभी-एडसको कार्यक्रम सकेर २ बजेतिर प्रदेश २ को अस्पतालहरुको कोभिड र ननकोभिड सेवाहरु अनुगमन गर्न तराई तिर झरेँ । बीरगञ्ज, जनकपुर लगायतका स्थानका बिभिन्न स्वास्थ्यसंस्थाको अनुगमन गर्दै अन्तमा राजबिराज अस्पताल पुगेको थिएँ । त्यहाँ पुग्दा एक कोरोना पोजेटिभसंग आकस्मिक तर अप्रत्यक्ष सम्पर्क भयो । घरमा फर्केपछि परिवारलाई जानकारी दिई आईसोलेसनमा बसे । पहिला केहि दिन थकाई र धपेडीले होला भन्दै बसें ।

तर ३ दिनसम्म पनि त्यो अवस्थामा परिवर्तन भएन । बरु अस्वस्थता बढ्दै गएको महसुस हुन थाल्यो । त्यसपछि भने पीसीआर गराएँ । र नतिजा पोजेटिभ नै आयो ।

तब थर्माेमिटर,पल्स अक्सिमेट्रिमा हरेक घण्टा आफ्नो ज्वरो र अक्सिजनको मात्रा नाप्दै घरमै बस्न थालेँ ।

घरबाटै कार्यालयको काम गर्न थालेँ । तर ३ दिनपछि ४ घण्टामा अक्सिजनको मात्रा ९७ प्रतिशतबाट घट्दै ८६ तल गएपछि,सुख्खा खोकी शुरु हुन थाल्यो । तातो पानी,औषधी,खोप्टो परेर सुत्ने गर्दा पनि सुख्खा खोकी र अक्सिजनको मात्रामा सुधार नभएपछि अस्पताल जानैपर्ने महसुस गरेँ । ढिला गरे बाँच्न सकिदैन र मृत्यृ भएकाहरुको प्रतिशतमै समाहित भईन्छ भन्ने लाग्यो ।

टेकु अस्पतालका डा. अनुप बास्तोलालाई फोन गरेर शैया नभएपनि आकस्मिक कक्षमै उपचार सेवा लिने गरी अस्पताल पुगे । अस्पतालमा सिटि स्क्यान गर्दा दुबै फोक्सोको निमोनिया भई एआरडिएस भईसकेको रहेछ ।

………………………………………

मलाई आइसीयूमा लगियो । त्यहाँ जानासाथ नशा खोल्ने,अक्सिजन जोडने र केहि आबश्यक परीक्षणहरु शुरु भए । अक्सिजन जोड्नासाथ केहि सहज भयो । लाक्षणिक उपचारका साथै कोरोनाका उपचारमा सबै औषधी ट्रायलमा भएकाले सल्लाहमा रेम्डेसिभिर बेलुकाबाटै शुरु भयो । म मधुमेहको बिरामी त्यो पनि धपेडिका कारण नियन्त्रणमा रहन नसकेको र संक्रमणले सुगर नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

साथीभाई तथा आफन्तलाई झन् तनाव होला भनेर जानकारी दिईन । उपचारमा रहँदा आफ्ना प्रतिबद्धता, आईरहने मेसेज र मोबाईल फोनले तथा त्यहँ प्रस्तुत हुने सहानुभुति, आश्वासन र खोजबिन तथा फोन गर्नेको आफ्नै कामको प्राथमिकता र जर्वजस्तीले फोन उठाउन पनि छोडे र साईलेन्टमा राखे । तर  राष्ट्रिय पत्रिकामा लेखिने स्तम्भ,प्रतिबद्धता भन्दै पुरा गरें । स्टाफ कलेजको दैनिक २ घण्टा संचालन हुने अनलाईन तालिम पनि जानकारी दिएर नै नियमित र निरन्तर रहें ।

सरकारले १४ दिनमा डिस्चार्ज गर्ने भनेपनि ५ दिन आईसीयु र २ दिन क्याबिनमा रहेर उपचार गराउँदा सिटि भ्यालु ३४ पुग्यो । यसले खतरा टरेको महसुस भयो । अर्को कुरा मेरो परिवारमा नै चिकित्सकीय सेवा उपलव्ध हुँने भएपछि अस्पतालको शैय्या बसिरहन मन लागेन । बरु अर्को गम्भीर बिरामीका लागि त्यो प्रयोगमा आउँछ भन्ने लाग्यो र घर आउने ईच्छा जाहेर गरें ।

अस्पतालबाट डिस्चार्ज भएँ । अनि पोजेटिभ भएको १४ दिनपछि काममा फर्कदा सिनियर,साथी सवैले रिर्पाेट नेगेटिभ आयो ? भनेर सोधखोज गर्न थाले । पुन पीसीआर गर्न बाध्य भएँ ।

अहिले सुगर नियन्त्रणमा राख्न र उक्त निमोनिया पुरै हटाउन तथा केहि पोष्ट कोभिड सिन्ड्रोमहरुलाई निमिट्यान्न पार्न हर समय लागी परेको छु । जस्लाई हजुरहरुको आर्शिबाद,प्रार्थना र शुभकामनाले सफलिभुत छिट्टै पार्नेछ भन्नेमा म पुर्ण बिश्वस्त छु ।

आम सर्वसाधारणले बुझ्नै पर्ने कुरा………….

म एउटा सचेत चिकित्सक । तर पनि संक्रमणमा परें । कसरी परेँ ? कहाँ परेँ ? थाह नै भएन । संक्रमणमा परेपछि पनि सावधानी अपनाएकै थिएँ तर समस्या देखियो ।अस्पताल जानु पर्‍यो । र मलाई गम्भीर अवस्थामा नै पुर्‍यायो । त्यसैले कोरोनालाई सामान्य रुपमा लिन हुँदैन् । त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नै पर्छ ।

त्यसका लागि, 

१.  म मात्र सुरक्षित छु, अरु बाँकी जस्लाई पनि कोरोना भएको हुनसक्छ भन्ने सोचेर हरसमय जनस्वास्थ्यका मापदण्डहरु ( सवैसंग — सामाजिक दुरी,मास्क लगाउने र साबुनपानीले हात धुने अर्थात एसएमएस अबलम्बन गर्नुहोस ।

२. रोगलाई सामान्य मान्ने र भन्ने नगरौ — रोगले कसैलाई लक्षण नदेखाऊला त कसैलाई सामान्य लक्षण तर जस्लाई जस्लाई जटिलता हुन्छ उनलाई मृत्यृ वा मृत्यृको मुखमा पुरयाउँछ । निको भए पनि विविध पोष्ट कोभिड सिन्ड्रोम छोडेर जान्छ ।

३. संक्रमणमा परेर निको भएकाले अब मलाई कोरोना लाग्दैन भनेर अजम्बरी नठानौ,पुन संक्रमण झन कडा हुनसक्छ ।

४. अक्सिजन घर घरमा राखौ — सवैले थर्माेमिटर र पल्स अक्सिमेट्रि घरमै राखौ भने जेष्ठ नागरिक र अन्य दीर्घरोग भएका घर परिवारमा अक्सिजन सिलिन्डर पनि किनेर चलाउनसक्ने गरी घरमै राखौ ।अक्सिजनको मात्रा घटिहाले अस्पताल खोज्ने र पुरयाउने समयसम्म बचाउनलाई अक्सिजन सिलिन्डरबाट अक्सिजन प्रयोगको जरुरत पर्छ । संभवत त्यो हैसियत राख्ने सवै नेपाली छौ ।

अन्तमा, 

यो ४९ बर्षमा मानिस, समाज चिन्ने अवसर कोरोनाले दियो । को नजिकको साथीजस्तै र को स्वार्थी तथा कुरा काट्ने रहेछ थाहा भयो । गाऊघरमा देख्दै र समाचारमा सुन्दै आएको छुवाछुतको प्रत्यक्ष पीडक भईयो । साथीहरु नजिक पर्ने नचाहने पनि आजसम्म देख्दैछु । तसर्थ सरकारले के गर्यो गरेन भन्दा हामीले के गर्नपर्छ भन्नेतिर सवै सचेत बनौ । रोग लाग्ने जटिलता हुने र मृत्यृ हुने हाम्रै घर र समाजमा हो ।

# डा. बुढाथोकी स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महशाखामा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *