विश्व स्वास्थ्य संगठनले भन्यो प्रयोग नगर्नु, नेपालका विज्ञको मिश्रित प्रतिक्रिया

काठमाडौँ, ६ मंसिर ।  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न आग्रह गरेको छ । तर नेपालका विज्ञहरुले भने डब्लुएचओको धारणा जसरी प्रयोग गर्नै नहुने भनेका छैनन् ।

विहीबार डव्लुएचओको विज्ञ समूहले कोभिड उपचारमा यसको प्रभावकारिता पुष्टि नभएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो । सो समूहले जारी गरेको नयाँ गाइडलाइनमा भनिएको  छ, ‘हालसम्म रेम्डेसिभिरले बिरामी निको पार्ने र स्वास्थ्यमा सुधार ल्याउने कुनै पनि प्रमाण पुष्टि नभएकोले यसको प्रयोग गर्नु आवश्यक छैन् । नगर्न हुन आग्रह गरिन्छ ।’

डव्लुएचओ गाइडलाइन डेभलपमेन्ट ग्रुपका अनुसार चारओटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा गरिएको परीक्षणमा रेम्डेसिभिर प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएको हो । डब्लुएचओले सार्वजनिक गरेको विज्ञप्तिमा रेमडेसिभिरको प्रयोगको असर मृत्युदर, बिरामीको अवस्था र क्लिनिकल सुधारमासमेत अर्थपूर्ण प्रभाव नदेखिएको उल्लेख छ ।

यसअघि गत अक्टोबरमा डब्लुएचओले रेम्डेसिभिर प्रयोगले संक्रमित निको हुने समयमा खासै केही फरक नपाइएको बताएको थियो । त्यसको केही दिनपछि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसेन (एफडीए)ले कोभिड १९ का बिरामीका लागि रेम्डेसिभिर प्रयोग गर्न मिल्ने भन्दै अनुमति दिएको थियो ।

नेपालका अधिकारीहरुको धारणा कस्तो छ ?
कोरोनाको उपचारका लागि रेम्डेसिभिर प्रयोग गर्न सकिन्छ भनि सबैभन्दा पहिले गाइडलाइन तयार गर्ने नेपाल मेडिकल काउन्सिल हो । काउन्सिलले अहिले पनि यसको प्रयोग जारी राख्नुपर्ने बताएको छ । ‘हामीले बनाएकै गाइडलाइन अनुसार मन्त्रालयले तयार गरेको ट्रिटमेन्ट प्रोटोकलमा पनि रेम्डेसिभिर समावेश गरिएको हो । र कोरोनाबाट हुने मृत्युदर घटाउन यसले महत्वपूर्ण काम गरेको छ भन्ने हाम्रो अहिलेसम्मको ठम्याई छ,’ काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।

यता रेम्डेसिभिरको क्लिनिकल ट्रायल गरेको संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अन्तिम प्रतिवेदन सार्वजनिक गरिसकेको छैन् । ‘यसको हामी अन्तिम विश्लेषण गर्दैछौँ । तर प्राभरम्भिक रिपोर्टले यसको प्रयोग प्रभावहिन छ भन्ने चाही देखिदैन । हामीले मोर्टालिटी हेरेका छैनौँ तर सुरुमा यसको प्रयोग गर्दा लक्षण केही घटाएको पाइएको छ । त्यसैले नलगाउनेको भन्दा लगाउनेमा राम्रो देखिएको पाइएको छ,’ परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले एनएचआरसीले समेत यसको अध्ययन गरिरहेको र त्यसले दिने सुझाव र डब्लुएचओको पछिल्लो धारणालाई थप विश्लेषण गरी आवश्यक निर्णय लिन सकिने बताए । ‘खास त औषधिको प्रयोगले कति काम गरेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । काम गरेको छ भने त यसको प्रयोगले निरन्तरता पाउँला, काम नै गरेको छैन भने त्यसबारेमा थप विचार गर्नुपर्ने होला,’ उनले भने ।

यता कोरोनाका बिरामीको उपचारमा शुरु देखि नै सहभागी शहीद शुक्रराज क्लिनिकल ट्रायल ट्रपीकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलाले रेम्डेसिभिरको प्रभावकारिता कस्तो छ भन्ने कुरा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट आधिकारिक रुपमा आउने बताए । ‘हामीले धेरै बिरामीमा यसको प्रयोग गरेका छौँ । यसले के कस्तो काम गरेको छ सबै एनएचआरसीलाई बुझाएका छौँ । त्यहाँबाट आधिकारिक आउँछ नै । तर एक शव्दमा भन्नुपर्दा इट्स नट अ म्याजिक बुलेट ।’

त्रिवि शिक्षण अस्पतालले बनाएको कोभिड अस्थायी अस्पतालका प्रमुख डा शान्तकुमार दासले रेम्डेसिभिरको प्रयोग बिरामीका लागि फाइदाजनक भएको बताए । ‘यसको विस्तृत विवरण त एनएचआरसीले नै दिन्छ होला तर हामीले लक्षण देखिएको शुरुवाती चरणमै यो औषधिको प्रयोग गर्न सक्यौँ भने यसले राम्रो काम गर्दो रहेछ भन्ने मेरो अनुभव छ,’ उनले भने ।

‘डब्लुएचओले मोडरेट टू सिभिअर केशलाई मात्रै चलाउने भनेर केश इनरोल गर्यो । तर यो शुरुवातमै चलाउँदा प्रभावकारी देखिने हाम्रो अनुभव छ । डव्लुएचओले सिभिअर अवस्थामा चलाएर रिपोर्ट हेरेपछि कसरी प्रभावकारीता देखिन्छ त ?’ उलने प्रतिप्रश्न गरे ।

‘जसलाई हामीले शुरुमा अर्थात पहिलो हप्तामा प्रयोग गरेका छौँ त्यसमा निकै राम्रो भएको छ । दोस्रो हप्तामा बिग्रने सम्भावना देखिएको छैन्, निमोनिया बढेको छैन् । जो ढिलौ आएको छ, त्यस्तोमा फाइदा भएको छैन्,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *