भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु
नयाँदिल्ली, ४ मंसिर । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको छ ।
भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ ।
भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत रहेको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको जनाएको छ ।
परिषदका अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३.५२ प्रतिशत रहेको छ । रासस/एएनआई
सम्पर्क इमेल : [email protected]