गण्डकी र लुम्बिनीमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु


लुम्बिनी, ५ कात्तिक ।  रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका वडा नं २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलाइ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान ५।१५ बजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले मंगलबार नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा र म्याग्दीको धवलागिरिका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *