प्रादेशिक अस्पतालमा १९०० शैय्या थपिदै, १९ करोड रुपैयाँ पठाईयो

काठमाडौँ, २ कात्तिक । सरकारले प्रादेशिक अस्पताल (जिल्ला, अञ्चल तथा उपक्षेत्रीय) अस्पतालको स्तरउन्नती गर्ने भएको छ । ५२ वटा जिल्ला अस्पताल र ११ वटा अञ्चल तथा उपक्षेत्रीय अस्पतालको स्तरउन्नती गर्ने भएको हो ।

त्यसका लागि १९ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरि पठाइएको छ । यो रकमले ती अस्पतालमा १ हजार ९०१ शैया थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सरकारको चालु बर्षको बजेटमा समावेश भएको कार्यक्रम अनुसार साविकका ५२ वटा जिल्ला अस्पतालहरुलाई कम्तीमा ५० शैयामा स्तरउन्नती गरिदै छ । यसो गर्दा ती अस्पतालहरुमा ८६६ वटा शैया थपिन्छ ।

मन्त्रालयले प्रतिशैया एक लाख रुपैयाँका दरले कुल ८ करोड ६६ लाख रुपैयाँ सम्वन्धीत अस्पताललाई पठाइसकेको बताएको छ ।

यस्तै पहिलेका अञ्चल तथा उपक्षेत्रीय अस्पतालहरुलाई कम्तिमा २०० शैयामा स्तरउन्नती गर्न समेत बजेट विनियोजन गरिएको छ । त्यसो गर्दा ती अस्पतालहरुमा थप १ हजार ३५ शैया थपिनेछ ।

यसका लागि पनि प्रति शैया १ लाख रुपैयाँका दरले कुल १० करोड ३५ लाख रुपैयाँ पठाइएको डा गौतमले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *