सिन्धुली अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द

सिन्धुली, २१ असोज । सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो ।

सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताए ।

उनले भने, “कोभिड–१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हौँ ।” हालसम्म सिन्धुली अस्पतालमा कार्यरत नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सात निको भइसकेको र दुई जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिनुभयो । मङ्गलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् । अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ ।

यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म विदेशबाट एक हजार ४८४ जना जिल्लामा आएका छन् । भारतबाट १०० महिला र ६६३ पुरुष गरी ७६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । अन्य मुलुकबाट १५३ महिला र ६३२ पुरुष गरी ६८५ जना जिल्लामा आएको जानकारी दिए ।

विदेशबाट आएकालाई कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र उनीहरुको पिसीआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको जानकारी दिए । यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित पालिकाले पनि क्वारेन्टिनमा राख्ने गरेको उनले जानकारी दिए ।

यता कोरोना सङ्क्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अनिश्चितरूपमा कार्यालय बन्द गरिएको छ । कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदा सम्म कार्यालय बन्द रहने जनाएकोे छ । जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *