‘टन्सिलले बिगारेको मुटु’ लोकार्पण

काठमाडौँ, १३ असोज ।  मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीद्धारा लिखित पुस्तक टन्सिलले बिगारेको मुटु लोकार्पण भएको छ । विश्व मटु दिवसको अवसरमा मंगलबार शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

बाथ–मुटुरोग गरिवी र अशिक्षाबाट प्रताडितहरूको मुद्दा हो । यसको सबैभन्दा ठूलो शिकार विपन्नतामा हुर्किएका बालबालिका हुन् ।
यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बढी बालबालिकाको मृत्यु हुने गरेको छ । यस्तै प्रकारले वार्षिक ८ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महंगो र जटिल शल्यक्रिया भैराखेको छ ।

हजारौंको संख्यामा युवाहरु यस रोगबाट पीडित भई अशक्त जीवन बिताई रहेका छन् । सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने यो बाथ–मुटुरोग बारे ९९ प्रतिशत जनतालाई जानकारी छैन । यो छायाँमा परेको मुटुरोग हो ।  यस रोगबारे जनचेतना जगाउन सके वर्षेनी हजारौं बालबालिकाको ज्यान बचाउन सकिन्छ । यस्तै हजारौंको संख्यामा युवायुवतीलाई अशक्त जीवनबाट सक्रिय जीवनमा फर्काउन सकिने डा रेग्मी बताउँछन् ।

पुस्तकमा के छ ?

‘टन्सिलले बिगारेको मुटु’ पुस्तक मार्फत डा. प्रकाशराज रेग्मीले समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाहरूको मुद्दालाई उठाउने प्रयास गरेका छन् ।

यस पुस्तकमा लेखकले बाथ–मुटु रोगीका विविध पक्षहरूलाई रसिलो र सरल भाषामा प्रस्तुत गरेका छन् । यसमा नेपाली समाजको चित्र छ । रोगीहरूको वेदना छ । सङ्घर्षको कथा छ ।

नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विकासको इतिहास छ । यस भित्र नेपाल हार्ट फाउण्डेसनले बाथ–मुटुरोग रोकथामका लागि चलाएको अभियानको रोचक वर्णन छ ।

केटाकेटी उमेरमा घाँटी सबैको दुख्छ, टन्सिल सबैको बढ्छ । नुन पानी र बेसार पानी पिएर धेरैले यसको उपचार गर्छन् । यहि गलत घरेलु उपचारशैलीका कारण आज लाखौं बालबालिका बाथ–मुटुरोग जस्तो भंयङ्कर समस्याबाट पीडित हुन पुगेका छन् । यस पुस्तकका माध्यमबाट मामुली जस्तो देखिने टन्सिलले कसरी मुटुलाई क्षतिग्रस्त पार्छ र भयङकर रूप धारण गर्न पुग्छ अनि यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे सबैलाई बुझाउने प्रयास डा. रेग्मीले गरेका छन् ।

यो पुस्तक विद्यार्थी, शिक्षक, आमाबुबा, स्वास्थ्यकर्मी लगायत सङ्घ–संस्था, नीति निर्माता, सञ्चारकर्मी चिकित्सा क्षेत्रका विद्यार्थी सबैका लागि उपयोगी छ ।

बाथ–मुटुरोगीको मुटुको भल्भ फेर्ने महंगो शल्यक्रिया नेपाल सरकारले निःशुल्क गरिदिएता पनि थोरै लगानीले पुग्ने रोकथामका लागि सरकारी स्तरबाट पहल भएको देखिदैन ।

यस पुस्तकको प्रकाशनबाट छायामा परेको यस मुटुरोगबारे व्यापक जनचेतना अभिबृद्धि हुने अपेक्षा गरिन्छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित यो पुस्तक ३०० पृष्टको र मुल्य ३५० रूपैया रहेको छ । यस पुस्तकको बिक्रिबाट प्राप्त हुने सबै रकम बाथ–मुटुरोग रोकथामका लागि स्थापित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

विगत ३० वर्षदेखि मुटुरोगको रोकथाममा लागेका डा. रेग्मी कुशल चिकित्सकका साथै सामाजिक अभियन्ता र लेखकका रुपमा पनि परिचित छन् । उनका अन्य एक दर्जन पुस्तकहरू प्रकाशित भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *