आठवटा निजी प्रयोगशालाले भने, ‘पीसीआर परीक्षणको मूल्य ३८९९ भन्दा कम गर्न सकिन्न’

काठमाडौँ, १२ असोज ।  काठमाडौँ उपत्यकाका आठ वटा निजी प्रयोगशालाले ३ हजार ८९९ भन्दा कममा कोभिड १९ परीक्षण गर्न नसक्ने बताएका छन् । आइतबार बेलुका विज्ञप्ती जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

यसरी विज्ञप्ती जारी गर्नेहरुमा ह्याम्स अस्पताल प्रयोगशाला, स्टार अस्पताल प्रयोगशाला, बि एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला रहेका छन् । यस्तै डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डाइग्नोस्टिक ल्याबरोटर एन्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्नोस्टिक सेन्टर रहेका छन् ।

त्यसअघि निजी प्रयोगशाला सञ्चालकहरु आइतबार दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुसंग छलफलमा बसेका थिए । सो क्रममा उनीहरुले लागत खर्चको विवरण समेत बुझाएका थिए ।

छलफलमा मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अगुवाईमा सहप्रवक्ता डा समिरकुमार अधिकारी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुणा झा सहभागि थिए । त्यस्तै निजी प्रयोगशालाका सञ्चालकहरुको तर्फबाट डा ज्योतिन्द्र शर्मा, गोविन्द अकेला सहितको टोली बसेको थियो ।

‘सरकारले धमाधम मूल्य घटायो, हामीले गुणस्तरीय नतिजा दिनका लागि घटाइएको मूल्यले सक्दैनौँ भन्यौँ । भनेनौँ मात्रै बिल सहित हिसाव नै देखायौँ । एक हदसम्म सरकारी अधिकारीहरु पनि कन्भिन्स हुनु भयो ।यसको जानकारी हामीले माथि पठाउछौँ भन्नुभयो र छुट्टिऔँ,’ स्टार अस्पतालका प्रयोगशाला सञ्चालक गोविन्द अकेलाले भने ।

यता मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले निजी प्रयोगशालाहरुले आफूहरुको गुनासो राखेको बताए । ‘उहाँहरुले आफ्ना गुनासा र समस्या राख्नुभयो । हामीले सुनेम र माथि त्यसको जानकारी गराइदिन्छौँ भनेम । उहाँहरुले दुई हजारमा किन सक्दैनौँ भन्ने बारेमा आफ्नो तर्फको कारण पेश गर्नु भएको थियो,’ उनले भने ।

सरकारले कोभिड – १९ को पीसीआर परीक्षणका लागि अधिकतम दुई हजार रुपैयाँ शुल्क तोकेको छ । केही निजी प्रयोगशालाहरुले सरकारले तोकेकै मूल्यमा समेत परीक्षण गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *