विदेशमा अध्ययन् गरेका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नशीप किन ?

सरोज श्रेष्ठ

एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेशमा अध्ययन् गर्न गएका विद्यार्थीहरुले इन्टर्नशीप पनि उतै सक्नुपर्छ भन्ने नेपाल मेडिकल काउन्सिलले केही बर्ष अघि देखि जारी गरेको नियमका कारण हजारौँ नेपाली विद्यार्थी समस्यामा परेका छन् ।

अझ कोरोना महामारी पछि जारी लकडाउनले त विदेशमा अध्ययन् गरेका वा अध्ययन सकि इन्टनसीप गर्दै गरेका मेडिकल विद्यार्थीहरुलाई झनै समस्या परेको छ ।

विदेशमा गई अध्ययन गरे पनि हामीले पहिले देखि नै नेपाल सरकार मातहतमा रहेको अस्पतालमा इन्टर्नशीप गर्न पाउनुपर्छ भन्दै आएका हौँ । किनभने यसले इन्टर्नशीप अत्यन्त प्रभावकारी हुनुका साथै नेपालको स्वास्थ्य प्रणाली बारे जानकार भइने र वैदेशिक शिक्षा खर्च समेत नियन्त्रण गर्न सकिन्छ ।

एमबीबीएस र बीडीएस अध्ययन्का लागि नेपाल बाहिर गएका नेपाली विद्यार्थीहरु प्रत्येक बर्ष लगभग ५ देखि ६ सय जनाले स्नातक पूरा गरि इन्टर्नशीप गरिरहेका छन् । यस्तै करीब ४ हजार विद्यार्थी विदेशका मेडिकल तथा डेन्टल कलेजमा अध्ययन्रत छन्।

विश्वका अधिकांश राष्ट्र तथा छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बङ्लादेशमै विदेशमा अध्ययन पूरा गरेपछि स्वदेशमै फर्किएर इन्टर्नशीप गर्न मिल्ने प्रावधान छ । साथै केही राष्ट्रबाट अध्ययन पूरा गरेकालाई इन्टर्नशीप आफ्नै राष्ट्रमा अनिवार्य छ ।
नेपालमै एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेका नेपाली तथा विदेशी विद्यार्थीहरुले अन्य राष्ट्रमा इन्टर्नशीप गर्न मिल्ने प्रावधान छ।

त्यसैले हामी पनि आफ्नो ज्ञान, अनुभव र सीप विकास गर्ने महत्वपूर्ण समय इन्टर्नशीप फलदायी बनाउन नेपालमै सो व्यवस्था मिलाइयोस भन्न चाहन्छौँ । इतिहास साक्षी छ, अन्तर्राष्ट्रिय विश्वविधालयबाट अध्ययन पुरा गरेका हाम्रा बरिष्ठ सबै जसो चिकित्सकहरुले नेपालमै इन्टर्नशीप गर्नु भएको छ ।

फेरी अहिले समय सन् २००८ – २००९ को जस्तो छैन ।

केही वर्ष अघिदेखि नेपालको प्रवेश परीक्षा उत्तीर्र्ण गरेका विद्यार्थीहरुलाई मात्रै नेपाल मेडिकल काउन्सिलले योग्य अन्तर्राष्ट्रिय विश्वविधालयमा अध्ययन गर्ने स्वीकृती दिँदै आएको छ। प्रत्येक वर्ष विदेशीने संङख्या घट्दै गएता पनि नेपालमा सिमित सिट संख्या, उच्च शिक्षा शूल्क र सम्पूर्ण विद्यार्थीहरुको पहुँचमा नरहेकोले सयौं विद्यार्थीहरु विदेशीनु रहर नभई बाध्यता हो।

पछिलो समय अमेरिका, बेलायत तथा अन्य राष्ट्रले स्नातकोत्तर अध्ययनको लागि परीक्षा प्रणाली सरल बनाएकोले नेपालमा चिकित्सकको संख्या घट्ने सम्भावना समेत छ। त्यसैले नेपालमै इन्टर्नशीप गर्न मिल्ने ऐन‌, कानुन तथा प्रावधान जारी गर्दै चिकित्साशास्त्रमा नेपाल आत्मनिर्भर हुनु पर्दछ।

विदेशमा मेडिकल अध्ययन गरेका नेपाली विद्यार्थीले पटक पटक नेपाल मेडिकल काउन्सिल, चिकित्सक शिक्षा आयोग,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउँदा पनि केही ठोस निर्णय भएको छैन् । मूख्य समस्या सम्पूर्ण विद्यार्थीहरुलाई नेपालमै इन्टर्नशीप गराउँन सकिन्न भन्दै सम्बन्धित निकाय आफ्नो दायित्वबाट टाढिदा, विदेशी सहयोगमा मात्रै स्वास्थ्य पूर्वाधार निर्माण कुर्दै जाँने हो भने स्वास्थ्य क्षेत्रको स्तर उन्नती होला त ? सम्बन्धित निकायले विशेष अध्ययन् गर्दै हाल नेपालमा चिकित्सकको आवश्यकता अनुसार मात्र योग्य अन्तर्राष्ट्रिय विश्वविधालयमा अध्ययनका लागि स्वीकृती दिनु पर्दछ।

कोभिड-१९ को माहामारीको अनिश्चिताले सम्पर्णू विद्यार्थीहरु थप अन्योलमा परेका छौ, भविष्यमा अरू समस्या नआउला भन्न सकिन्न । नेपाली विद्यार्थीहरु अध्ययनरत विश्वविधालयको पठनपाठन विविध कारणले ठप्प भए नेपालमै इन्टर्नशीप तथा अध्ययनलाई निरन्तरता गर्ने पाउनु पर्दछ। तत्काल सम्पूर्ण विद्यार्थीहरुलाई नेपालमै इन्टर्नशीप गराउँन सकिदैंन भन्ने ठोस अध्ययन सहित सीमित विद्यार्थीहरुलाई अवसर दिई निकट भविष्यमा सम्पूर्ण विद्यार्थीहरुलाई अवसर दिनु पर्दछ। भोलेन्टियर इंटर्न चिकित्सकको रूपमा नेपालमै इंटर्नशिप गर्न मिल्ने व्यवस्था हाम्रो माग हो । यद्धपी यो सम्भव नभए अन्य राष्ट्रमा जस्तै सेल्फ पेमेन्ट इन्टर्नशीप व्यवस्था ल्याउनु आजको आवश्यकता हो। हाम्रो मागले हामीलाई मात्र नभई देशलाई हित हुने विश्वास गदछौँ।

कोभिड-१९ को माहामारीमा स्वास्थ्यकर्मी अभाव हुँदै जाँदा भोलेन्टियर इन्टर्नको दायित्व पूरा गर्न चाहन्छौं। युवालाई देखाइने ब्यवहार र सेवासुविधाले विकशित राष्ट्रहरूले विभिन्न क्षेत्रमा सफलता पाएका छन्। यूवा देशको गहना हुन, नेपालको भविष्य यूवामै छ, स्वास्थ्य तथा अन्य क्षेत्रको स्तर उन्नतीका निम्ति यूवालाई नेपालमै विभिन्न अवसरहरू सिर्जना गर्नु पर्दछ । सरकारले आर्थिक वर्ष २०७७/७८को लागि स्वास्थ्यमा निकासा गरिएको ९० अर्ब बजेटसहित स्वास्थ्य क्षेत्रको स्तर अभिवृद्धिका निम्ति हामी आफ्नो दायित्व पूरा गर्न चाहन्छौं। आफ्नै देशमा इन्टर्नशीप गरी निकट भविष्यमा आफ्नो ज्ञान र सिपको सदुपयोग गर्दै देशको सेवा गर्न प्रतिबद्ध छौँ।

सम्पूर्ण विद्यार्थीहरु संगठित भई वषौँ देखिको समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरौँ। सम्बन्धित निकायले ठोस निर्णय नगरे, अब सम्मानित सर्वोच्च अदालतबाट विद्यार्थीहरुले आफ्नो अधिकार सुनिश्चित गर्नु पर्नेछ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सक शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलले छिट्टै समन्वय गरी विशेष प्रावधान बनाइ समय अनुकुल नेपालमै वा विदेशमै इन्टर्नसीप गर्न मिल्ने ऐन जारी गर्न सम्पूर्ण विद्यार्थीहरु जोडदार अपिलका साथै ध्यानाकर्षण गदछौँ।

# श्रेष्ठ कायरो विश्वविद्यालय इजिप्टमा एमबीबीएस अन्तिम बर्षका विद्यार्थी हुन् । उनी एएनएमएस इजिप्ट कायरोका अध्यक्ष समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *