स्तनपान : शिशुका लागि अमृत समान

यतिवेला हामी विश्व स्तनपान सप्ताहमा छौँ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्मको दिनलाई विश्व स्तानपान सप्ताहको रुपमा मनाइने गरिन्छ । यसरी स्तनपान सप्ताह मनाउन थालिएको २८ बर्ष पुग्यो अर्थात् सन् १९९२ देखि यो दिवश विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

नेपालमा यो बर्षको नारा “स्वच्छ र सुन्दर संसार,स्तनपान एक मात्र आधार” रहेको छ ।

हरेक शिशुका लागि सबैभन्दा महत्वपुर्ण आधार हो आमाको दुध । आमाको दुधमा जस्तो पोषण अन्य केहिबाट पाउन सकिदैन ।
खोपको महत्व त सबैलाई थाहै छ । तर यो भन्दा अगाडीको खोप स्तनपान हो । स्तनपानले बच्चाहरूलाई धेरै रोगबाट बचाउँछ । यो मात्रै एउटा यस्तो रोक थाम हो, जसले बाल मृत्यु दर घटाउँछ । यहि महत्वलाई आत्मसाथ गर्दै स्तनपान दिवस मनाउन थालिएको हो । यसको मुख्य उद्धेश्य स्तनपानको प्रवर्धन गर्नु हो ।

स्तनपानले बालबच्चाको बौद्धिक विकासमा अहम भुमिका खेल्छ । यो प्रकृतिले दिएको वरदान नै हो । बच्चालाई पखाला लागेको बेलामा समेत जीवनजल र अरू खाने कुरा भन्दा आमाको दुध नै शक्तिशाली हुन्छ ।

तसर्थ शिशुको जीवन नै आमाको दुधमा रहेको हुन्छ । तर आधुनिकताका नाममा आजकल केही आमाहरू आफ्ना शिशुलाई स्तनपान गराउन चाँहदैनन् । तर यस्तो होइन, जसले स्तनपान गराउँछ उसमा सुन्दरता बढाउने हार्मोन सक्रिय हुन्छ र झन् सुन्दरतामा निखारता आउँछ । बरु स्तनपान नगर्ने आमाहरुको शिशुमा त असर पर्छ नै स्वयं आमाहरुमा पनि यसले हानी गर्दछ ।

स्तनपान भनेको के हो ?
–आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट प्राकृतिक दुध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासंगै आमाको स्तनमा दुध बहन थालेको हुन्छ । विगौती दुध शिशुको लागि अमृत समान हुन्छ । यसले शिशुलाई धेरै रोगहरूबाट लडन सक्ने प्रतिरोधातत्मक क्षमता बढाउँछ । स्तनपानलाई परिवार नियोजनको साधनको रूपमा पनि लिइन्छ । जति बढि पटक आामले दुध चुसाउछिन् त्यति नै बढी तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।

त्यसकारण …
–शिशु जन्मेको १ घण्टा भित्र नै आमाको दुध खुवाऔं ।
–शिशुलाई जन्म देखि छ महिना पुरा भए सम्म आमाको दुध मात्र खुवाऔं ।
–शिशु छ महिना पुरा भएपछि थप पोषिलो खानाको साथ कम्तिमा २ बर्षको उमेरसम्म आमाको दुध पनि खुवाऔं ।

स्तनपानको फाइदा : 
–स्तनपानले नवजात शिशुको लागि पहिलो खोप हो, यसमा रोगसंग लड्ने तत्व हुन्छ ।
–स्तनपानले शिशुहरुको शारीरिक एवं मानसिक वृद्धि र विकास गर्छ ।
–बच्चालाई स्वच्छ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आधार आमाको दुध हो ।
–दुधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।
–यो सम्पुर्ण पौष्टिक तत्वहरुले भरिपुर्ण हुन्छ तसर्थ छ महिना सम्म शिशुलाई आमाको दुधबाहेक अन्य कुनै पनि चीजहरु तथा पानी पनि खुवाउनु आवश्यक पर्दैन ।
–आमाको दुध जहिले पनि बच्चाको लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ ।
–स्तनपानले बच्चालाई मधमेह, क्यान्सर, पखाला र निमोनिया जस्ता बिमारी र संक्रमणबाट बचाउँछ ।
–स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ किनकी आमाको दुध शिशुको नाक र घाटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
–स्तनपानले शिशुको बौद्धिक क्षमतापनि बृद्धि हुन्छ ।
–यसले बाल मोटापन पनि नियन्त्रण गर्छ ।
–आमाको दुध अलाबा अन्य दुध शिशुलाई एलर्जी हुने खतरा उच्च हुन्छ ।

“शिशु जन्मे पछि केहीदिन सम्मआउने बाक्लो, पहेलो बिगौती दुधमा रोग सँग लडन सक्ने एक मात्र प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ जस्ले हानिकारक र संक्रमक रोग लाग्नबाट शिशुलाई सुरक्षित गर्दछ ।

आमामा फाइदा :
–स्तनपान गराउने आमाहरुलाई स्तन र पाठेघरमा क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।
–जन्मान्तर कायम राख्न स्तनपानले सहयोग पुरयाउँछ ।
–स्तनपानले सुत्केरी भै सकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
–स्तनपान गराउने आमा र उनको शिशुबीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ ।
–स्तनपानले आमा र बच्चा दुबैलाई आत्मीय र सुरक्षित भएको अनुभुति हुन्छ ।
–सुत्केरी भैसकेपछि हुने मानसिक तनाव कम गर्छ ।
–स्तनपानले पाठेघरलाई आफ्नो सही ठाउ र आकारमा आउन मदत गर्छ ।
–स्तनपानले सुत्केरी पछि हुने मोटापन कम गर्छ ।

स्तनपानको लागि सही तरिका :
–तपाईको शिशुले जुन स्तनबाट दुध चुसिरहेको छ त्यसको अर्को तर्फको हातले शिशुलाई काखमा लिएर समातेर राख्ने र सहज हुने गरी बस्ने ।
–पलेटी कसेर बसेर शिशुलाई चुसाइ रहेको स्तन तिरको हातले अडाएर उसको गोडा तल तिर पर्नेगरी सुताउने ।
–यदि जुम्ल्याहा बच्चाहरु छन् र एकसाथ दुध चुसाउनु छ भने पलेटी कसेर बसी एउटा नरम तकियाको सहायतामा दुबै स्तनमा एक–एक वटा शिशुलाई एकसाथ स्तनपान गराउन सकिन्छ ।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरु :

–सकेसम्म आमाले निहुरिएर स्तनपान गराउँनु हुँदैन् । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दुध पस्ने सम्भावना हुन्छ ।
–आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउँदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भई बच्चाको मृत्यु समेत हुनसक्छ ।
–राति बच्चालाई सुताउँदा बच्चाको मुखमा निप्पल राखि राख्नु हुँदैन । यसले संक्रमण गराउन सक्छ ।
–दुध खाइसके पछि बच्चालाई माथि उठाएर डकार गराउनु पर्छ । बच्चाले दुध सँगै हावा पनि तान्ने भएकोले डकार्दा हावा बाहिर फालिन्छ , अनि खाएको दुध स्वच्छ भई बान्ता हुन बाट पनि रोकिन्छ ।
–बच्चाले दुध चुस्न नसके स्तन निचोर्नु पर्छ । नत्र डल्लो पर्ने र पाक्ने सम्भावना हुन्छ ।
–स्तन वरपर घाउ, खटिरा आएमा त्यही स्तन निचोरेर दुध लगाएमा औषधिको काम गर्छ ।
–सकेसम्म बोतलको दुध बच्चालाई खुवाउनु हुदैन । खुवाउनै पर्ने बाध्यता भए चम्चाले खुवाउनुपर्छ । किनकी बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई डाइरिया भै रख्ने र संक्रमण समेत हुनसक्छ ।
–यदि आमाको दुध नआएमा गाई भैंसीको दुध खुवाउने गर्नुपर्छ । सकेसम्म बजारको दुध खुवाउनु हुन्न ।

स्तनपान गराउने आमाको आहारा 
–आमाले सुत्केरीबाट उठ्न बच्चाको राम्रो हेरचाहगर्न र तिनले गर्नुपर्ने कामहरू गर्नका लागि राम्ररी खुवाउनुपर्छ । उनीहरूलाई प्रोटिन चिल्लो पदार्थ युक्त खानाका साथै प्रसस्त सागसब्जी र फलफुलको आवश्यकता पर्छ ।
–उनीहरुलाई सफा पानी, दुध, ज्वानोको झोल, सुप र जुस जस्ता तरल पदार्थ पनि प्रस्सत चाहिन्छ । यी बिभिन्न आहारले आमाको शरीर बनाइरहहेको हुन्छ ।
–स्तनपान गराउन पैसा खर्च हुदैन । यदी सम्भव हुन्छ भने त्यो बचेको पैसाले आमाले आफ्नो आहारमा सुधार गर्नुपर्छ । अतिरिक्त प्रोटिनका लागिसिमी, बिउ हुने फल, अन्डा, दही, चीज, माछा मासु आदी खानुपर्छ ।

–केही मान्छेरुले सुत्केरीले खास–खास प्रकारका खानाहरु खानु नहुने र वच्चाले पहिलो दुधखानु  हुदैन भन्छन तर उनीहरुले सन्तुलित खाना खान पाएनन् भने उनीहरु कुपोषण, रक्तअल्पता र अन्य रोगका शिकार हुन्छन् ।

# स्टाफ नर्स यादव भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्र सिराहामा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *