प्रजनन् शक्तिको अभिश्राप : पत्रु आहार, पत्रु विहार र पत्रु सोच बिचार

डा. किरण पौडेल

डा. किरण पौडेल

तपाईँले पनि कहिँ, कतै, कहिलेकाँही भर्खरै जन्मेको नवजात शिशुलाई  आफ्नो आमाको दुध नखुवाई प्याकेटहरुमा उपलब्ध पाउडरका दुध खुवाएको देख्नु भएको, खुवाउनु भएको वा सुन्नु भएकै होला ।

आफ्नो कार्य व्यस्ततामा बच्चा जन्मनु भनेको काम गर्ने शैलीमा वा काममा रुकावट सरी मानेर नवजात शिशुलाई अरुकै भरमा लालन-पालन गर्न दिने पश्चिमी समाजको विशेषता बन्दै गएको थाहा नै छ ।

यस प्रकारको व्यवहारले त्यस समाजमा आफू कति व्यस्त छु भनेर देखाउने आधार बनेको छ । समाजमा आफ्नो धनधान्यको व्याख्या गर्नको लागि र आफ्नो प्रसिद्धिको झलक देखाउन पनि नवजात शिशुलाई अरुको भरमा लालन-पालन गर्दै आएका पनि सुनिन्छ र देखिन्छ ।

यो पश्चिमी समाजको प्रभाव हाम्रो समाजमा पनि राम्रैसँग परेको छ । नवजात शिशुहरु जन्मन्छन् र ती शिशुलाई आफ्नै आमाले केही समयकालको लागि स्तनपान गराएता पनि बच्चाको वृद्धि विकासको लागि पूर्ण समय स्तनपान गराउदैनन् ।

नेपाली धनिमानी समाजमा यो क्रियाकलाप सामान्य जस्तै भएको छ भने गरीब समाजमा आमाको नै पोषण राम्रो सँग नभएको हुनाले शिशुले पनि आवश्यक मात्रामा स्तनपानको सेवन गर्न पाउदैनन् । मध्यम वर्गीय समाज पनि यस विषयबाट अछुतो छैन् । यसरी तथ्यांक हेर्दा ४२.८० प्रतिशत शिशुहरु आमाको स्तनपानमा निर्भर नभई अन्यत्रको दुधहरु सँग निर्भर भई जीवनको सुरुवात गर्दछन् ।

विश्वमा ६० प्रतिशत शिशुहरु आमाको स्तनपान दुधको सेवन गर्न पाउदैनन् । शिशुहरु जन्मे देखि नै आफ्नो शरीरलाई हितगर्ने माताको स्तनपान गर्न नपाउँदा कुपोषणजन्य अनेक रोगहरुको सिकार हुन् पुग्दछन् ।

नेपालको तथ्यांकमा शिशुहरु जन्मेको एक महिना भित्रमा ७.५प्रतिशत ले स्तनपानलाई अरु द्रव्य आहारले बिस्तापित गर्ने गरेको देखिन्छ भने १७ प्रतिशत शिशुले छ महिना र २३.८ प्रतिशत शिशुले नौ महिनामा स्तनपान छोडी बाहिरी खानाले प्रयोग कमसेकम दिनमा एक पटक गरेको पाईन्छ ।

बजारमा उपलब्ध अनेक प्रकारका पाउडरका दुधहरु, प्याकेटमा उपलब्ध दुधहरु, पोषण तत्व भनेर बेचिने पाउडरहरु नवजात शिशुका लागि दुग्ध रुपि विष समान हो । तर यस्ता पाउडर युक्त दुधहरुको विश्व बजार धेरै ठूलो र फस्टाउँदो छ ।

पत्रु भनेको बासी, सडे गलेको, तयार गरिएको भन्ने बुझिन्छ । यस्ता प्याकेटहरु सहजै उपलब्ध हुने शिशुको आहार तर शिशुको हितमा नहुने हुन्छ । यस्ता आहारहरु माता पिताले शिशुको लागि जीवनभर रहने विषको समानको आहार खुवाई रहेका हुन्छन् । यस्ता आहार खुवानाले आमा बुबाले शिशुलाई जन्मने वितिक्कै रोगको उपहारको पोको दिए समान हुन्छ । यस्ता प्याकेटमा उपलब्ध पोषण तत्व भनिने आहारहरु पच्नलाई लामो समय लाग्दछ र शिशुको पाचन प्रणाली धेरै विकसित न भै सकेको हुनाले शिशुको शरीरमा हानि गर्छ ।

दीर्घकालिन रोगहरु जस्तै मधुमेह, दम, छातिको रोग, शरीरको प्रतिरक्षा प्रणाली कमजोर गर्ने र जीवनको अन्तिम समय वृद्धावस्थामा उत्पन्न हुने रोगहरु त्यस अबोध शिशुलाई आमा बुबाले जन्मनु साथ उपहार जसरी प्रदान गर्दछन् । यसमा शिशुको दोष हुन्न आमाबुबालाई यो कुरा थाहा हुँदा पनि पत्रु आहार खुवाउने आमाबुबाको सोचलाई पनि पत्रु मान्नुपर्छ ।

शिशु जन्मेपश्चात् दोस्रो महिनाको अन्तिम समय सम्म स्तनपायी आमाको दुध नै सेवन गराउनुपर्छ । मातृ स्तनपान शिशुको लागि सुपाच्य, बलबर्धक, संक्रमण रहित, माताको स्तन क्यान्सर रोधक, गर्भाशयको प्राकृत स्थिति स्थापक, शिशुको बल बर्धक र शिशु र आमाबीचको स्नेह तथा माया प्रेम बढाउने हुन्छ । यदि शिशुको जन्म भएको तर माताको मृत्यु भएकोमा, गम्भिर रोगबाट ग्रसित भएकोमा, दुध नआएकोमा वा विकृत आएकोमा हाम्रो समाजमा धाई आमाको ब्यवस्था गरेर शिशुलाई दुध सेवन गराएको कुरा त सुन्नु भएकै होला वा भोग्नु भएकै होला, यो सबै भन्दा उत्तम व्यवस्था हो । यदि धाई आमाको पनि व्यवस्था हुन नसके गाईको, भैसिको वा बाख्रीको दुध सेवन गराउन सकिन्छ, यो प्याकेटको पाउडर दुध भन्दा अति हितकर हुन्छ ।

बालबालिकाहरुको एक वर्ष आयु हुँदा खिचडी, हलुवा, दुध, सादा उकालेको चामल, मूंगको दाल, दुधमा भिजाएको गहुँको रोटी खानाको रुपमा दिनु हितकर हुन्छ । आलु, लौका, परवल, पालुंगो जस्ता सहजै पच्ने सब्जीहरु, केरा, आँप, मेवा, जस्ता फलफुलहरु खान दिनु पथ्य हुन्छ । बच्चाहरूलाई पोषक लिटो जस्तै पुरानो चामल, गहुँ, जौ भुटेर दुध, घिउ तथा थोरै नुन राखेर लिटो बनाई खान दिनुपर्दछ। यो पुष्टिबर्धक, सहजै पच्ने र बालबालिकाहरुको लागि अत्यन्तै हितकर हुन्छ । हाल उपलब्ध सर्वोत्तम लिटो बालबालिकाहरुको लागि लाभकर हुन्छ । सरकारद्वारा विद्यालयमा बालबालिकाहरूको लागि उपलब्ध गराईएको लिटो, पत्रु खानाको अगाडि अमृत समान हुन्छ ।

पाउडर दुधमा जीवन शुरु गरेका शिशुहरु बढ्नासाथ दोस्रो तहको पत्रु आहारको शिकार हुन्छन् । घरबाहिर सहजै उपलब्ध चाउचाउ, चाउमिन, मस्म, पिज्जा, कोकाकोला, फोन्टा, स्प्राईट, ईनजि ड्रिंसहरु, बर्गर, दालमोठ, केक जस्ता पत्रु खानपिन बालबालिकाहरुको स्वास्थ्य प्रत्यक्ष हानि गर्ने खानपिनहरु हुन् । यस्ता पत्रु आहारमा पोषण तत्वको मात्रा शुन्य, बोशिय तत्व, नुनको मात्रा, चिनिको मात्रा, अमिलोपनको मात्रा अधिक हुन्छ । यस्ता आहारहरु बजारमा रेसादार पदार्थ छ, प्रोटिन छ, लौहत्वको मात्रा छ भन्दै गलत प्रचार गरेर बेच्दछन् । अबोध बालबालिकालाई यस्ता पत्रु आहार हितकर हुदैन् भनेर थाहा पाउदा पनि कोशेली जसरी लैजाने आफन्तजन, मान्यजनहरुको सोचविचार पनि पत्रु नै हो ।

नेपालमा बालबालिकाहरु र युवावस्थाका मानिसहरुले खानपिन अध्ययन गर्दा तथ्यांकमा लगभग ६० प्रतिशत बालिका, युवतिहरुले पत्रु खाना खाने गरेका र बालक, युवाहरुका ४७ प्रतिशतले यस खाजा खाना खाने गरेका तथा एक दिनको अन्तरमा एक छाक खाना कै रुपमा पत्रु खाना खाने गरेको तथ्यांकले देखाउँछ । यस्ता खाना खानु हुँदैन भन्ने सोचहरु यो वर्गमा आई सकेको हुने पनि तथ्यांकले देखाउँछ । थाहा हुँदा हुँदै पनि मनोरञ्जनका लागि, खाजाका लागि, खाना नै यसलाई बनाएका यो वर्गको सोच नै पत्रु हो भने ब्यपारको लागि, प्रचारको लागि र करको लागि यस्ता खानपिनमा प्रोत्साहन गर्ने व्यापारी, प्रचारक, उद्योगपति र सरकार समेत पत्रु हो ।

अध्ययन(अनुसन्धानको अनुसार पत्रु आहार सेवनले बालबालिका तथा युवा वर्गहरुलाई ठूलो क्षति गर्ने देखाउँछ । यसले मोटापा बढाउने, सोच्ने र पढ्ने क्षमता पूर्णरूपमा घटाउने, मानसिक अवसाद गराउने, पाचन शक्तिको क्षय गर्ने, प्रजनन शक्तिमा पूर्ण हानि गर्ने, शरीरको वृद्धि र विकासमा बाधक हुन्छ ।

अधिक अमिलो, पिरो, नुनिलो मिस्रित आहार सेवनले प्रत्यक्ष रुपमा महिला तथा पुरुषको प्रजनन संस्थालाई हानि गर्दछ । महिलाहरुमा बन्ध्यत्वको समस्या दिनानु दिन बढ्दो छ भने पुरुषमा पुंस्त्वको समस्याले विकराल रुप लिदैछ ।

विश्वमा बिवाहित दम्पतिहरु मध्ये ८.१२ प्रतिशत बन्ध्यत्वको शिकार हुने गरेका छन् भने नेपालमा १३.१५ प्रतिशत विवाहित दम्पतीहरुमा बन्ध्यत्वको समस्या पाईन्छ । दश बिवाहित जोडीहरु मध्य कमसेकम एकलाई बन्धयत्वको समस्या हुन्छ र यो बढ्दो क्रममा छ । पत्रु आहार सेवन गर्ने महिला, पुरुषमा यस्ता आहार कम सेवन गर्ने वा नगर्ने भन्दा अधिक बन्ध्यत्व पाईन्छ ।

अध्ययन अनुसार ८ प्रतिशत महिलाहरुमा बन्ध्यत्वको समस्या पत्रु आहार सेवन नगर्दा पनि देखिएको र १६ प्रतिशत महिलामा हप्तामा कम्तिमा पनि चार पटक पत्रु खाना-खाजा खाएकोमा बन्ध्यत्वको समस्या यस्ता आहारले गर्दा बढेको देखिन्छ ।  पुरुषमा पुंस्त्वको समस्यामा पत्रु आहार सेवन नगरेता पनि १७ प्रतिशत मा तथा पत्रु आहार सेवन गर्नेहरुमा ५३ प्रतिशत मा पुंस्त्वको समस्या देखिएको छ ।

उमेर बढेसँगै दीर्घकालिन रोगहरु, शोकहरु, मानसिक तनावहरु, बसोवासको अव्यवस्थिति, पथ्य र हितकारी आहारको सेवनको अभाव, पत्रु आहारहरु जिवनको पहिलो कालखण्ड देखि निरन्तर सेवन तथा शारीरिक अन्य कारणहरुले बाझोपनको समस्या बढाउदै छ ।

शिशुको जन्म देखि राम्रो आहार सेवन, पोषिलो हितकारी आहारको सेवन, बाल्यकालमा घरमा तयार भएका मौसम अनुसारका खाजा(खाना, युवावस्थामा पत्रु आहारहरुको कम सेवन वा सेवन नै नगरेमा विवाह पश्चातको जीवन सन्ततियुक्त तथा दीर्घायू हुन्छ ।

तसर्थ, शिशु जन्मे पश्चात् उसलाई आमाको दुध खुवाउदै हुर्काउने, बालबालिकाहरुलाई अन्न खाने समयमा पोषिलो घरमा तयार गरिएको मौसम अनुसारको खाजा(खानाको व्यवस्था गर्ने, युवावस्थामा सकेसम्म युवा(युवतिहरुले घरमा तयार भएको खाना खाने, राम्रो सफा निवासमा बस्ने, मनलाई शान्त गराउने गरेमा वैवाहिक जीवन र सो पश्चातको जीवन दीर्घायूमय बनाउन सकिनेछ ।

# डा. पौडेल राष्ट्रिय आयुर्वेद संस्थान, जयपुर भारतमा आयुर्वेद स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *