रोटा भाइरसविरुद्धको खोप शुरु गर्दै सरकार
काठमाडौँ, २ असार । सरकारको नियमित खोप कार्यक्रममा यो महिना देखि रोटा भाइरस विरुद्धको खोप थपिने भएको छ । यो संगै बालबालिकामा दिईने निशुल्क खोपको संख्या १२ पुग्ने छ ।
ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इमुनाइजेसन (गाभी)को सहयोगमा युनिसेफले पठाएको ३ लाख २४ हजार भाइल रोटाभाइरस विरुद्धको खोप ‘रोटारिक्स’ काठमाडौँ आईपुगेको छ ।
अब यो खोप एक साता भित्र सातवटै प्रदेशमा पठाईसक्ने र बढीमा असारको अन्तिमसाताभित्रै यो खोप सञ्चालनमा ल्याउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको योजना छ ।
‘आज खोप काठमाडौँ आईपुग्यो । अब एक साता भित्र सातवटै प्रदेशको स्टोरमा पुग्नेछ । त्यहाँबाट जिल्लाहरुमा वितरण हुनेछ । त्यस लगत्तै हामी खोप कार्यक्रम शुरु गर्छौं, ठ्याक्कै मिति तय भएको छैन् तर असार महिनामै शुरु हुन्छ,’ परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा. झलक गौतमले भने ।
उनले यो खोप जन्मेको ६ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक दिइने बताए । ‘यो खोप बच्चाहरुमा मुखबाट दिइन्छ । एक पटकमा १.५ एमएल दिइन्छ र यो खोप स्वयंसेविकाले होइन स्वास्थ्यकर्मीबाट दिईन्छ,’ उनले स्पष्ट पारे ।
कान्ति बाल अस्पतालमा सन् २०१० देखि २०१६ सम्म पखाला लागि भर्ना भएका ५ बर्ष मुनिका बालबालिकामा अध्ययन् गर्दा ३८ प्रतिशतमा रोटा भाइरस देखिएको थियो । पानी जस्तो पातलो पखला लगाउने र बच्चाहरुलाई जलवियोजन गराई तत्काल ज्यान जाने अवस्था आउने गर्दछ ।
नेपालमा बर्षमा ६ लाख २० हजार बालबालिका जन्मने गर्दछन् । ‘त्यसैले बर्षमा ६ लाख २० हजार भाइल खोप आवश्यकता पर्दछ । अहिले ३ लाख २४ हजार भाइल आइपुगेको छ । अब नियमित रुपमा यो खोप अन्य खोप जस्तौ आउँछ,’ डा गौतमले भने ।
सरकारले रोटाभाइरस विरुद्धको खोप सन् २०१६ देखि नै शुरु गर्ने घोषणा गरेको थियो । तर खोपको उपलव्धतामा समस्या हुँदा यो खोपको शुरुवात झण्डै ४ बर्ष पछि हुन गएको छ ।
सरकारको नियमित खोप कार्यक्रममा अहिलेसम्म वीसीजी, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) पोलियो, पीसीभी, जेई, एमआर र एफआईपीभी खोप छ । रोटा शुरु भएपछि नियमित खोपमा १२ वटा पुग्दछ ।
सम्पर्क इमेल : [email protected]