गुल्मीमा कोरोना संक्रमणबाट ३६ बर्षीय पुरुषको मृत्यु

0
Shares

तम्घास, ३२ जेठ । गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए ।

जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए । उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । गुल्मीमा मात्रै कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् ।

यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन् ।

अझै विभिन्न क्वारेन्टिनमध्ये रेसुङ्गा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा एकएक सङ्क्रमित छन् । उनीहरुको सामान्यावस्था रहेको जनाइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *