कसरी चोरी भयो पाटन अस्पतालको आईसीयूबाट ‘पोर्टेबल अल्ट्रासाउण्ड मेसिन’ ?

काठमाडौँ, २९ जेठ । पाटन अस्पतालबाट पोर्टेबल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा बुधबार ललितपुर प्रहरीले एक जना चिकित्सक र एक जना अहेवलाई पक्राउ गरेको छ ।

चोरी गरेको आरोपमा ३६ बर्षीय डा प्रवीण मिश्र र २० बर्षीय अहेव रमेशकुमार शर्मा पक्राउ परेका हुन् । प्रहरीका अनुसार डा मिश्र सर्लाही बलरा नगरपालिका वडा नं.१ का हुन् भने शर्माको महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १३ का हुन्। उनीहरू हाल काठमाडौं नगरपालिका वडा नं. ३१ मा बस्दै आएका थिए ।

अस्पतालहरुमा चोरीको घटना नभएका होइनन् । तर, एउटा अस्पतालमा कार्यरत चिकित्सक र अहेव अर्को अस्पतालमा पुगी मेडिकल सामान चोरीमा सम्लग्न भएको आरोपमा पक्राउ परेको सम्भवत यो पहिलो घटना हो । यसै विषयमा हामीले पाटन अस्पतालका निर्देशक प्राडा विष्णु शर्मालाई सोधेका थियौँ । तपाईँको अस्पतालको आइसीयूबाट चोरी गर्न कसरी सम्भव भयो ? अनि उनीहरु कसरी पक्राउ परे ? डा. शर्माको जवाफ जस्ताको तस्तै :

“गत १७ जेठ विहान साढे आठ बजे तिरको कुरा हो । दुई जना व्यक्तिहरु आईसीयू वार्डमा पुगेर हामी कम्पनीबाट सामान निरीक्षण र मर्मतका लागि आएका हौँ भनेछन् ।

आईसीयूका सिस्टरहरु अलि बढी व्यस्त रहन्छन् । कम्पनीबाट मेसिन चेक गर्न आएको भनेपछि सिस्टरहरुलाई पनि होला भन्ने भएछ ।

उनीहरु केही मेसिनहरु साइडमा लगेर जाँचे जस्तो गरेछन् । पछि उनीहरु कतिखेर बाहिरिए भन्ने सिस्टरहरुलाई समेत थाहै भएन । शुरुमा ‘पोर्टेबल अल्ट्रासाउण्ड मेसिन’ हराएको भन्ने पनि थाह भएन ।

पोर्टेवल थियो । पहिले पनि यता उता लगिन्थ्यो । कतै लगिएको होला भन्ने भयो । तर कतै पनि नभेटिएपछि बुझ्दै र खोज्दै जाँदा हरायो भन्ने एकिन भयो । त्यसपछि हामीले प्रहरीलाई जानकारी गरायौँ ।

हामीकहाँ अस्पताल भित्र, बाहिर सिसिटिभी छ । सडकमा समेत अहिले त सिसीटीभी छ । प्रहरीले सिसिटीभीको फलो गर्दै गयो र उनीहरुलाई पक्रन सफल भयो । एक जना डाक्टर र एक जना अहेव भन्ने सुनेको छु । यस्तो व्यक्तिहरु छदम भेसमा त्यस्तो काममा किन लागेको होला ? अचम्म लागेर आएको छ । अनि यो घटनाले हामीलाई सतर्क पनि गराएको छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *