कोरोना महामारीकाबेला बालबालिकालाई जोगाउन अभिभावकले के गर्ने ? नेपासले दियो यस्तो ‘आइडिया’

नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) नेपालमा भएका बालरोगसम्वन्धी उपचार गर्ने चिकित्सकहरुको साझा संस्था हो ।पछिल्लो समय देशमा कोरोना भाइरस (कोभिड-१९) को महामारी बढ्दो क्रममा देखिएपछि सोसाइटीले आफ्ना बालबालिकाहरुलाई कोरोनाको महामारीबाट कसरी जोगाउने भनेर ‘आइडिया’ दिएको छ ।

कोरोना के हो कसरी फैलियो ? बच्चाहरुमा फैलिने दर कस्तो छ ? अनि अभिभावकले बच्चालाई कोरोनाबाट जोगाउन के गर्नुपर्छ ? सहितका आइडिया दिएको हो ।

कोरोना सम्वन्धी जानकारी र बालबालिकालाई कोरोनाबाट जोगाउन दिएको आइडिया :

कोरोना रोग नोभल कोरोना भाईरस (SARS –Cov-2) बाट हुने रोग हो । यो नयाँ किसिमको भाइरल रोग हो ।

यो भाइरस र रोगको बारेमा विश्वलाई थोरै मात्र जानकारी छ । हाल सम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको उहान शहरबाट सुरुवात भएको हो । विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा यसलाई महामारी घोषणा गरेको थियो ।

कोरोना रोग विश्वका २१२ देशहरुमा फैलिसकेकोे छ । विभिन्न देशहरुमा मृत्युदर पनि बढी नै पाइएको छ । युरोप र अमेरिकामा मृत्युदर भएपनि कतिपय एसियन  मुलुकहरुमा मृत्युदर धेरै नै कम भएको  पाइएको छ ।

कोरोना रोग विभिन्न उमेरका मानिसहरुमा विभिन्न लक्षण साथ देखिएको छ । विशेष  गरि जेष्ठ नागरिक (६० बर्ष भन्दा बढी उमेरको) प्रतिरोधात्मक क्षमता कम भएको जस्तै दीर्धरोगी मधुमेह, उच्च रक्तचाप, मुटुरोग, कलेजो र मिर्गौला रोग भएकाहरुमा जटिल रुपमा प्रकट भएको छ र मृत्युदर पनि बढी भएको पाईएको छ ।

अहिले सम्म विश्वमा भएका अध्ययनमा बालवालिकाहरुमा जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम भएको पाइएको छ । कतिपय बच्चाहरुमा रोगको लक्ष्यण नदेखिने अथवा देखिहालेपनि साधारण रुघाखोकी जस्तै रुपमा प्रस्तुत हुने हुनाले बालबालिकाहरुले घरका ठुला मानिसहरु र जेष्ठ नागरिकहरुलाई सार्न सक्दछन्, बच्चाहरुले सामाजिक दुरी कायम गर्न नसक्ने हुनाले विद्यालयहरु बन्द गर्नु परेको छ ।

आज हामी नेपाली पनि कोरोना रोग (COVID -19)  को माहामारीको अवस्थामा छौँ ।

विभिन्न देशहरुमा यो रोग द्रुत गतिमा फैलिईरहेको छ । आजका मिति सम्म विश्वमा करिब साढे ५५ लाख मानिस यो रोगको संक्रमणमा परेका छन् । करीब साढे तीन लाखले ज्यान गुमाएका छन् । तर, खुशीको कुरो अधिकतम परिक्षण गरिएका देशहरुमा भने मृत्युदर निकै न्यून (०.७५) सम्म भएको पाईएको छ ।

हाम्रो देशमा पनि ६६२ जनामा यो रोगको संक्रमण देखि सकिएको छ । ति मध्ये करिब १७ जना १८ बर्ष मुनिका बालबालिका रहेका छन् तर खुशीको कुरा भने हाम्रो देशमा विरामीहरु अधिकांंश लक्षण विहीन छन् र शारिरिक रुपमा स्वस्थ्य छन् । अहिले सम्म कसैको पनि मृत्यु भएको छैन । तर रोगको लक्षण नदेखिएका ती विरामीहरु वेलैमा पत्ता लगाई एकान्तबास  गर्न सकिएन भने ठुलो संख्यामा समुदायमा रोग फैलिने डर हुन्छ ।

कोरोना रोग मुख्यतया संक्रमित व्यक्ति (रोगको लक्षण देखिएको अथवा नदेखिएको) बाट स्वास्थ्य  व्यक्तिमा सर्दछ । संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यु गर्दा निस्केका कण वा छिटाहरु स्वास–प्रस्वासको माध्यमबाट स्वस्थ्य ब्यक्तिको शरीरमा  प्रवेश गरेमा, उत्त कणहरु स्वस्थ्य ब्यक्तिको मुख, नाक र आँखा हुदै शरीरमा  प्रवेश गरेमा रोग सर्न सक्दछ । संक्रमित ब्यक्तिको मास्क, निजले छोएको सतह अदिबाट स्वस्थ्य ब्यक्तिमा रोग सर्न सक्दछ ।

यसका लक्षणहरुलाई ३ समुहमा वाड्न सकिन्छ :

१. लक्षणहरु नभएकोः यी बच्चाहरु हेर्दा सामान्य देखिन्छन् यिनिहरुमा रोगका कुनै लक्षण हुदैनन् अधिकांश बच्चाहरु यही समुहमा पर्दछन् ।

२. सामान्य लक्षणहरुः कतिपय बच्चाहरुका ज्वरो आउने सुख्खा खोकी लाग्ने, कमजोरी महशुस हुने, शरीरका मांशपेसीहरु दुख्ने हुन सक्दछ । यस्तो अवस्थामा चिकित्सकका सल्लाह लिनु पर्दछ र आवश्यकता अनुसार अस्पतालमा भर्ना हुनु पर्दछ ।

३. कोभिड रोगको कडा संक्रमणका लक्षणहरु जुन तल उल्लेख गरिएकोे छ । कडा संक्रमणका लक्षणहरुलाई तुरुन्त अस्पताल भर्ना गर्नु पर्ने हुन्छ । त्यस्ता बच्चाहरुलाई कतिपय अवस्थामा आई.सि.यु. मा भर्ना गर्नु पर्ने र मृत्यु पनि हुन सक्छ ।

अधिकांश बालबच्चाहरुमा कोभिड–१९ रोग देखिए पनि उनिहरुमा कुनै लक्षण नदेखिन सक्छन् । केही बच्चाहरुमा ज्वरो आउने सुख्खा खोकी लाग्ने, शरिरका मांशपेसीहरु दुख्ने हुन्छन् । यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनु पर्दछ ।

धेरै कम बच्चाहरुमा रोगको कडा लक्षणहरु देखिन सक्छन् उक्त लक्षणहरु तल दिइएको छ ।

बच्चाहरुमा रोगको कडा लक्षणहरु :

(१) १०२ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आउने ।
(२) स्वाश फेर्न गाहे हुने ओठ र जिब्रो निलो हुने ।
(३) सुस्त वा वेहोस हुने ।
(४) बच्चामा कम्पन हुने ।
(५) नाक, मुखबाट रगत आउने, बच्चा पहेलो हुने र छाम्दा चिसो हुने ।
(६) कतिपय बच्चा हरुमा  कडा किसिमको झाडा पखाला र डाबर आउने पाईएको छ ।

विद्यालयहरु बन्द भएको, बाहिर हिड्न, डुल्न नपाउने, खेल्न नपाउने र अन्य कारणले कतिपय बच्चाहरुमा मानसिक समस्या आउन सक्छन् । जस्तै रुन झर्कीने, शरीरका विभिन्न भागहरु दुख्ने आदि ।

बच्चाहरुमा शारीरिक, मानसिक समस्याहरु देखिएमा चिकित्सकको सल्लाह अनुसार गर्नुहोस् । आफु शान्त रहनुहोस् र परिवारलाई आश्वस्त पार्नुहोस् । बच्चाहलाई दिन भरिको तालिका बनाउनुहोस् समयमा सुत्न र उठ्न लगाउनुहोस् ।

बच्चालाई नियमित खोप र खुवाइ रहेको अन्य औषधिहरु दिनुहोस् ।

बच्चाहरुलाई नियमित पोषिलो खाना, ताजा खानाहरु दिनुहोस् ।

कोभिड १९ रोगको संक्रमण रोक्ने उपायहरु बारेमा आफुपनि जानकारी लिनुहोस् र बालबालिकालाई पनि सिकाउनुहोस् ।

१) भिडभाडमा आफु पनि नजानुहोस् र बच्चाहरुलाई पनि नपठाउनुहोस् ।
२) सामाजिक दुरी कायम गर्नुहोस् । (एक अर्का बिचमा १–२ मिटरको दुरी)
३) बाहिर हिड्दा, कहि जादा माक्स लगाउनुहोश । (३ बर्ष माथिका उमेरका बच्चालाई माक्स लगाउनुपर्दछ)
४) हाछ्यु गर्दा, खोक्दा मुख कुईनोले अथवा टिस्यु पेपरले छोप्नुहोस् ।
५) बाहिर गएर आउँदा , अपरिचित बस्तु छुदा, खान अगाडी, दिसा गरे पछी साबुन लगाएर मिचि मिचि हात धुनुहोस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *