तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप


कैलाली, ८ जेठ । कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ ।

नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो । यो लक्ष्यको तुलनामा ८६ दशमलव ७ प्रतिशत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।

“चैत १५ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तय भएकोमा कोरोना भाइरसका कारण उक्त अभियान स्थगन गरिएको थियो”, उनले भने, “त्यसैले यो अभियान गाउँपालिकाभरि जेठ १ देखि ४ गतेसम्म र बाँकी छुटफुटलाई ५ गते पनि खोप लगाएका छौँ ।” गाउँपालिकामा रहेको छ स्वास्थ्य संस्थाबाट सामाजिक दूरी कायम गरेर १२ स्वास्थ्यकर्मीद्वारा दादुरा–रुबेलाको खोप लगाइएको बताइएको छ ।

छ स्वास्थ्य संस्थामध्ये हसुलिया स्वास्थ्यचौकीमा ८५ प्रतिशत, पवेरा स्वास्थ्य चौकीमा शतप्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९८ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ८४ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७७ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ९० प्रतिशत बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।

यसैगरी जन्मेदेखि पाँच वर्षसम्मका चार हजार ७३३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिइएकामा तीन हजार ९२० बालबालिकालाई पोलियो थोपा खुवाइएको छ । यो लक्ष्यको तुलनामा ८३ प्रतिशत रहेको छ । हसुलिया स्वास्थ्यचौकीमा ८१ प्रतिशत, पवेरा स्वास्थ्यचौकीमा ८९.९ प्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९७ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ७८ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७४ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ८७ प्रतिशतलाई पोलियो थोपा खुवाइएको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *