क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता

- नेपाली हेल्थ

दाङ, १ जेठ । दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो ।

अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए । जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौँ सन्तान हुन् । कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ ।

अहिले अनिता पनि दाङको तुलसीबाल अस्पतालको आइसोलेशन वार्डमा छिन् । तुलसीपुर उपमहानगरपालिकाकी ३५ वर्षीया यादवका ६ दिनअघि जन्मिएका जुम्ल्याहा छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यसअघि उनका दुई छोरी र दुई छोरा छन् । जुम्ल्याहा छोरीको स्वास्थ्यमा सुधार आएको खबरले अनिताले सुत्केरीपूर्वको लामो तथा कष्टपूर्ण हिँडाइ र त्यो अवस्थाको क्वारेन्टाइन बसाइँका सबै पीडा बिर्सन थालेकी छन् ।

अनिता भारतको बलरामपुर जिल्लाको विलौनीस्थित माइतीघरबाट पैदलै हिँडेर गत बिहीबार घर आइपुगेकी थिइन । उनी तीनदिनसम्म १५ किलोमिटर दूरीको जङ्गल हुँदै स–साना पहाड र कच्ची तथा जोखिमपूर्ण बाटो लगातार करिब १२० किलोमिटरको दूरी पैदलै हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ स्थित आफ्नो घर पुगेकी हुन् । माइतीबाट यो बाटो एक्लो यात्री बनेर उनी घर पुगेकी हुन् ।

कोरोना महामारीका कारण भारत र नेपालमा पनि लकडाउनका कारण उनलाई यस्तो सास्ती भएको थियो । गर्भवती अनिता यस्तो जोखिममा हिँडेरै घर त पुगिन तर घरमा खानपिन गर्न र केही समय आराम गरी बस्न पनि पाइनन् । घरभित्र पस्न नपाउँदै गाउँलेले थाहा पाए र भारतबाट आएको भन्दै उपमहानगरपालिकालाई खबर गरिदिए । एकैछिनमा उपमहानगरपालिकाको टोली आयो र उनलाई तुलसीपुरस्थित क्वारेन्टाइनमा लगेर राखियो ।

“पेटमा जम्ल्याहा रहेछन्, त्यत्रो लामो बाटो हिँडेर आएँ तर घरमा बस्न पाइनँ, भोक लागेको बेला केही खाएर आराम गर्न पनि पाइनँ । त्यति दुःख कष्ट गरी धेरै समयपछि घरमा आइपुगेकी थिएँ, श्रीमान् र छोराछोरीको मुख देख्न पनि पाइन । म निकै रोएँ तर उहाँहरुले सम्झाउनुभयो । पछि यही क्वारेन्टाइनमा ल्याएपछि खाना र बास पाएँ, एकरात आराम पाएँ । त्यो रात कसरी बित्यो मलाई थाहा भएन तीन दिनदेखि हिँडेको र यो अवस्थाको शरीर निकै गलेको रहेछ”, उनले भनिन् ।

शुक्रबार उनलाई सुत्केरी व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल पु¥याइयो । जुम्ल्याहा छोरी जन्मिए । तर निकै कम तौलका जन्मिए । यादव र उहाँका नवजात शिशुलाई गत शनिबार बिहानै प्रादेशिक अस्पतालले सिफारिस गरी तुलसीबाल अस्पताल पठायो । अहिले दुई सन्तान सोही अस्पतालको एनआइसियुमा छन् भने आफू त्यहीको आइसोलेशन कक्षमा ।

राप्ती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ डा विनोद सिंहले भने, “उहाँ आफ्नो माइतीघर भारतको बलरामपुरबाट धेरै कष्टपूर्ण पैदल यात्रा गरी आउनुभएको रहेछ । व्यथा लागेपछि अस्पताल ल्याइयो जाँच भयो तर शरीरमा तागत पटक्कै थिएन । रगतको मात्रा निकै कम देखिएपछि शल्यक्रियाको तयारी भयो । रगतको व्यवस्था पनि भयो । तर पछि साधारणरुपमा (नर्मल डेलिभरी) बाट नै जुम्ल्याहा शिशु जन्मिए ।”

गत माघ महिनाको पहिलो हप्ता श्रीमानसंगको सामान्य विवादपछि अनिता माइतीमै बसेकी थिइन । मसुरो र गहुँ काट्ने समय भएकाले त्यहाँ काम पाएको बताउने अनिताले सुत्केरी हुने समय आएपछि माइतीमा बच्चा जन्माउन हुँदैन भन्ने भयो र चार सन्तानको यादले पनि सतायो । त्यसैले उनी घर फर्किइन । तर यो बेला पहिलेजस्तो सजिलो थिएन । “यस्तो अवस्थामा छु, मानिससँग हारगुहार गरेर पनि जान्छु भन्ने लाग्यो र बाटो लागेँ । घरपरिवारको यादले पनि सताउन थालेपछि हिँडेर भए पनि घरमै जान्छु भनेर निधो गरेर हिँडेको हुँ”, उनले भनिन् ।

अनिताले भनिन्, “जङ्गलको यात्रा गर्दा वन्यजन्तु, सर्पको डरको कुनै प्रवाह गरिनँ, सुत्केरी हुने समय नजिक आएको छ कतै जङ्गलमा व्यथा लागेपछि के गरुँला भन्ने त्रास त थियो तर छिटोछिटो गरी हिँडे । भोक लाग्यो, तिर्खा लाग्यो, खुट्टा भत्भती पोल्न थाले तर पनि कतै नरोकिई सकीनसकी हिँडेरै यहाँ पुगेँ”, तुलसीबाल अस्पालमा उनले भनिन् । पहिलो दिन नौसरा गाउँका एक व्यक्तिको घरमा बास मागेको र त्यसको भोलिपल्ट राप्ती नदी तरेर नजिकै रहेको घरमा बास मागेको बताउनुभयो । त्यस घरको एक कोठामा एकरात बिताएर तेस्रो दिन आफ्नो घर पुगेको उनले बताइन ।

“क्वारेन्टाइनमा ल्याइएको भोलिपल्ट बिहान १० बजे पेट दुख्न थालेपछि जानकारी गराएँ, एकैछिनमा त्यहाँबाट गाडीले प्रादेशिक अस्पतालको प्रसूति कक्षमा लग्यो, त्यहीँ शिशु जन्मिए त्यसपछि यहाँ आएको हो”, उनले भनिन् ।

तुलसीबाल अस्पताल तुलसीपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा किशोर खत्रीले विगत चार दिनदेखि सुत्केरी आमालाई आइसोलेशन र नवजात शिशुलाई एनआइसियुमा राखेर उपचार गरिएको बताए । उनले आमा र जुम्ल्याहा दिदीबहिनीको उपचार शुल्क आफूले नलिने यसअघि नै घोषणा गरिसकेका छन् । अनितालाई क्वारेन्टाइमा नल्याएको भए आमा र शिशुको ज्यानसमेत जोखिममा रहेको डा खत्रीले बताए ।

सुत्केरी र उहाँका श्रीमान्को अस्पताल बसाइँको खानाको व्यवस्था उपमहानगरपालिकाले गरेको छ । डा खत्रीका अनुसार दुवै बच्चाको तौल सामान्यभन्दा धेरै कम भएकाले एनआइसियुमा राखेर उपचार गरिएको हो । आज ६ दिनभयो उनीहरु जन्मिएको । अहिलेसम्म दुवै शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको डा खत्रीले बताए । त्यस्तै सुत्केरीको पनि आज धैरै सुधार भएको उनले बताए ।
सुत्केरी अनिताको आइतबार कोरोना भाइरसको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आइसकेको छ भने नबजात शिशुको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

एनआइसियुको दैनिक खर्च १४ हजार लाग्ने भए पनि शिशुले सहजै आमाको दूध चुस्न सक्ने नभएसम्म त्यही राखेर उपचार गरिने डा खत्रीले बताए । शिशु जन्मेको ६ दिन भयो तर अनिताले अझै ती शिशुलाई आफ्नो काखमा राख्न पाएकी छैनन् । अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी यादवलाई मङ्गलबार पनि रगत दिइएको थियो । अनिता भन्छिन्, “पहिला त म घर बस्न नपाएकामा निकै रोएँ तर त्यो क्वारेन्टाइनमा मलाई नल्याएको भए यति खर्च गरेर कसले सुत्केरी गराउँथ्यो होला र भन्ने लागेको छ । मेरो र जुम्ल्याहा छोरीको ज्यान खतरामा रहेछ । मलाई अहिले डाक्टर नै भगवानजस्तै लागेको छ । उनीहरुको यो ऋण म कसरी तिरौँ भन्ने लागेको छ ।”

“यहाँ म अब बोल्नसक्ने हिँडेर शौचालय जान सक्ने भएकी छु । अस्पतालमा स्वास्थ्यकर्मीले पटक पटक आएर हेरविचार, खाना नास्ता दिइएकोले राम्रो भएको छ । अहिले यहाँ मत सबै ठीक भएकी छु तर मेरो मनले घरमा रहेका छोराछोरीलाई सम्झिरहेको छ । छिटो सन्चो भएर जानपाए हुनेथियो भन्ने लागेको छ”, उनले भनिन् ।

तुलसीबाल अस्पताल यस जिल्लाको बालबालिका तथा प्रसूति सेवाका लागि सुविधासम्पन्न अस्पताल हो । यसका सञ्चालक तुलसीपुर निवासी बालरोग विशेषज्ञ डा खत्रीले देशमा आइपरेको यस्तो असहज परिस्थितिमा पनि यी सुत्केरी र शिशुको ज्यान बचाउन सकेकामा खुशी लागेको बताउँछन् । उनले यसअघि पनि यस्ता गरिब तथा निमुखाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने गरेको सुनाए । यस अस्पतालले यसअघि पनि विपन्न वर्गका नागरिकका बालबालिकालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिँदै आएको छ । रासस


Facebook Comment


थप समाचार