मानवअंगमा प्राडा ज्ञवालीलाई निर्देशक बनाइएकोमा गोदानको आपत्ति

काठमाडौँ, २८ बैशाख । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा समूहबाहिरबाट निर्देशक नियुक्त गरिएको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आपत्ति जनाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि शिक्षण अस्पतालका बरिष्ठ सर्जन प्राडा प्रेमराज ज्ञवालीलाई ४ बर्षका लागि नियुक्त गरेको थियो ।

गोदानले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश २०६८ मा भएको व्यवस्था अनुसार कार्यकारी निर्देशक नियुक्ति गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुनुपर्ने भनिएको र हालसम्म सोही अनुसार हुँदै आइरहेको सन्दर्भमा नेपाल सरकारले सो गठन आदेशमा भएको व्यवस्था विपरित स्वास्थ्य सेवा भन्दा बाहिरको व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको प्रति सरकारी चिकित्सक संघको आपत्ती छ ।’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा ज्ञवालीलाई नियुक्ति गर्नु अघि गठन आदेश सम्वन्धी व्यवस्था संसोधन गरिएको छ । कार्यकारी निर्देशक हुनका लागि स्वास्थ्य सेवाका हुनुपर्ने भन्नेमा स्वास्थ्य क्षेत्र हुनुपर्ने भन्ने गरी संसोधन गरिएको छ ।

‘डा ज्ञवालीको योग्यतामा हाम्रो प्रश्न वा गुनासो होइन । तर यो त तमाम सरकारी चिकित्सकहरुको अस्तित्वको विषय भयो । आज एउटा सरकारी अस्पतालको निर्देशक नियुक्ति गर्न गठन आदेश परिवर्तन भयो, भोली अन्य सरकारी अस्पतालका निर्देशक पनि यसैगरी बाहिरबाट ल्याएर नियुक्ति हुन्नन् भन्ने के ग्यारेन्टी छ । त्यसैले हाम्रो विरोध हो,’ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने ।

कतिपयले भने सरकारले आफ्नो संस्थालाई थप सुधार गर्न नियम संसोधन गर्नु र आफ्नो विश्वासको व्यक्तिलाई नियुक्ति गर्नु स्वभाविक हो भनेका छन् । स्वास्थ्यकै एक अधिकारीले भने, डा ज्ञवालीलाई विश्वास गरेर नियुक्ति दियो, उनको नियुक्तिलाई बैध गर्न कानून संसोधन भयो त्यसमा के अनौठो भयो ? त्यसैले यसमा आपत्ति जनाउनको अर्थ छैन् ।

तर  डा. पाण्डेले सरकारको यो निर्णयले सरकारी स्वास्थ्य सेवा अन्तरगर्त रहेका सरकारी चिकित्सकहरुको मनोवल गिरेको बताए । ‘भविस्यमा पालो आउँला भनेर दुर्गम दुर्गम खटिएका चिकित्सकहरुलाई मानमर्दन हुने गरी बाहिरबाट निर्देशक ल्याइयो । यो हाम्रो गम्भीर आपत्ती हो । यसले सरकारी चिकित्सकहरु झन दुरुत्साहित भएका छन् ,’उनले भने ।

प्रत्यारोपण केन्द्रको स्थापना देखि नै निर्देशकको जिम्मेवारी डा पुकारचन्द्र श्रेष्ठले सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा सो केन्द्रलाई मिर्गौला प्रत्यारोपणको क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सफल भए भने देशमै पहिलो पटक कलेजो प्रत्यारोपण समेत सम्भव गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *