प्रदेश १ का जिल्ला अस्पतालमा पिपिइ अपुग

मोहम्मद सदरुल र मनोज दाहाल

विराटनगर, १९ वैशाख । प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ)अपुग भएको छ ।

ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु)हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् ।

प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् ।

मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । इलाम जिल्ला अस्पतालका मेसु डा प्रमोद साहले पिपिइको अभावका बीच आफूहरुले सेवा दिइरहेको बताए । उनले विदेशलगायत अन्य जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै कोभिड–१९ का लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।

पाँचथर जिल्ला अस्पतालका मेसु डा बुद्धिबहादुर थापाले पिपिइ, एन–९५ मास्क अभाव भएको चर्चा गर्दै आवश्यक जनशक्ति र बजेटको अभाव भएको सुनाए। ताप्लेजुङ अस्पतालका मेसु डा सनि लामाले अस्पतालमा दरबन्दी कम भएको बताउँदै अन्य जिल्ला अस्पतालसरह सेवा दिए पनि दरबन्दी कम भएको गुनासो गरे । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड–१९ को व्यवस्थापनका लागि दैनिक काम भइरहेको बताए ।

भोजपुर जिल्ला अस्पतालका निमित्त मेसु डा पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको गुनासो गर्दै पिपिइ आफँै व्यवस्थापन गरेर काम चलाइरहेको छु भनिन। उनले जिल्लामा सङ्क्रमित बढेमा पिपिइ अभाव हुने जानकारी दिइन् । सोलुखुम्वु जिल्ला अस्पतालका निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई उपचारका लागि ल्याउन र लैजान समस्या भएको बताउँदै अस्पतालमा सवारी साधन व्यवस्थाका लागि आग्रह गरिन् ।

ओखलढुङ्गा र धनकुटा जिल्ला अस्पतालका मेसु डा सन्तोष देव र पुजन विश्वकर्माले पिपिइ र एन–९५ मास्कको अभाव रहेको गुनासो गर्दै सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरे । सुनसरी जिल्ला अस्पतालका मेसु डा सन्तोष राईले अस्पतालले नियमितरूपमा थ्रोट स्वाब सङ्कलन, फिवर क्लिनिक र मोबाइल क्लिनिक सञ्चालन गरिरहेको तर पिपिइ अभाव रहेको बताए । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आइसोलेसनमा रहेका बिरामीका लागि खाना खर्चको समस्या रहेको गुनासो गरे ।

जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या

सामाजिक विकासमन्त्री घिमिरेले प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पिपिइ वितरण भइसकेको जानकारी दिँदै शङ्कास्पद बिरामी वृद्धि भएमा पिपिइको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले पठाएको पिपिइको सही सदुपयोग नभएको गुनासो व्यक्त गर्दै स्वास्थ्यकर्मीभन्दा जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या उत्पन्न भएको बताए ।

मन्त्री घिमिरेले पिपिइको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको चर्चा गर्दै शक्तिशाली देशमा पनि पिपिइ अभाव रहेको छ भने । प्रदेश सरकारले पिपिइ न्यूनतमरूपमा व्यवस्थापन गरेको छ भन्दै कसले कस्तो पिपिइ लगाउने भनेर नबुझ्दा पनि समस्या उत्पन्न भएको उनले बताए ।

कोरोनाको त्रासका वीचमा पनि अस्पतालले अत्यावश्यकीय सेवासँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकामा धन्यवाद दिँदै शुरुआतका दिनमा कोरोनाको आतङ्क स्वास्थ्यकर्मीमा देखिए पनि अहिले त्यो त्रास हटेर गएको अनुभव उनले सुनाए ।

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामग्री अभावका विषयमा ध्यानाकर्षण भएको बताउँदै थप जनशक्ति तत्काल व्यवस्थापन गर्न आवश्यक भएको जानकारी दिए ।

हालसम्म प्रदेश नं १ मा आरडिटी र पिसीआर प्रविधिबाट आजसम्ममा छ हजार ३७७ जनाको कोरोना भाइरसको परीक्षण भएको छ । परीक्षण गरिएकामध्येमा पाँच हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ ।

कोरोना सङ्क्रमित ३१ जना केही दिनदेखि यथावत रहेको बताइएको छ । कक्षका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण ९पिसीआर० बाट एक हजार २८८ मा कोरोना भए/नभएको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल दुई हजार ३३७ पुगेको छ भने ३० डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा छ हजार १९९ बसिरहेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *