हात्तीपाइलेविरुद्ध अभियान : दश वर्षमा घट्यो दश प्रतिशत

- नेपाली हेल्थ

काशीराम शर्मा

बाँके, १६ माघ । नेपालगञ्ज उपमहानगरपालिका ठूलो सङ्ख्याल बासिन्दाले हात्तीपाइले विरुद्धको औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘असफल’ भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६७ देखि जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्य सञ्चालन गर्दै आएको छ ।

अभियान सञ्चालन गर्नुपूर्व साविकको रझेना गाविसको ६ र ७ वडामा १०१ को रगत जाँच गर्दा २१ प्रतिशतमा सो रोग देखा परेको थियो । पाँच वर्ष औषधि सेवनपछि २०७२ सालको माघ ३ र ४ गते नेपालगञ्ज र रझेनाका ६२४ को रगत जाँच गर्दा ९९ मा सो रोग झरेको थियो ।
जिल्लामा दश वर्ष अभियान सञ्चालन गर्दा जिल्लामा दश प्रतिशत बिरामी घटेका छन् । पहिलो चरणको अभियान सञ्चालनमा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले १० प्रतिशत रहेको तथ्याङ्क छ । गत वर्ष नेपालगञ्ज उपमहानगरपालिका–३ मा ६ प्रतिशतले मात्रै हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए ।

वडा नं ७ मा १२ प्रतिशत, वडा नं ८ र ११ मा १३–१३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका थिए । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै मन्त्रालयले एकपटकको अभियानमा रु १७ करोड बढी खर्च गर्ने गर्दछ । यसपालि रु १७ लाख ३९ हजार ८५० खर्च गर्दैछ । अरु सात वटा स्थानीय तहको खर्च जोड्दा ठूलो बजेट हुने देखिन्छ तर औषधि सेवन दर भने बढ्न सकेको छैन ।
आगामी माघ २५, २६ र २७ गते बाँकेमा दशौँ पटक औषधि सेवन गराइँदैछ । यसपालि हरेकलाई औषधि खुवाउने रणनीतिअनुसार उपमहानगरपालिकाले योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरेर ‘कसरी औषधिको कभरेज बढाउन सकिन्छ रु’ भन्ने विषयमा छलफल गरिरहेको छ ।

उपमहानगरपालिका प्रमुख डा धवलशमशेर राणाले औषधि सेवनको ‘कभरेज’ बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने जानकारी दिए। “जसले ८५ प्रतिशतभन्दा बढी खुवाउँछ । त्यसलाई म पुरस्कृत गर्छु । त्यसको वडामा बजेट थपिदिन्छु । जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारवाही गर्छु”, प्रमुख उनले भने ।

उपमहानगरपालिकामा गत वर्ष ४० प्रतिशतले औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगविरुद्धको सम्पर्क अधिकृत दुर्गा गौतमले जानकारी दिए । गत वर्ष जिल्लाको ‘कभरेज’ ५४।९८ प्रतिशत थियो । पहिलो वर्ष ८५।७४ प्रतिशतले औषधि सेवन गरेका थिए ।
पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधि खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७।४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३।०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७।१३ प्रतिशत, ६५।८९ प्रतिशत र सन् २०१९ मा ५४।९८ प्रतिशतले औषधि खाएका थिए ।

अभियान सञ्चालन गर्दा ‘सावधानी’ अपनाउन नसक्दा बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको शुरुआतमा महिला स्वयंसेविकाले घर परिवार सङ्ख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको सङ्ख्या कम हुँदै गएको छ ।

हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको सङ्क्रमण हुने भन्दै उहाँले भन्नुभयो, “हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ ।”

मानिसलाई नडराई औषधि सेवन गर्न जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । स्वस्थ रहनका लागि निर्धक्क भएर औषधि सेवन गर्न आग्रह सम्पर्क अधिकृत गौतमले भन्नुभयो, “हरेक दिन कोही न कोही मानिसको मृत्यु भइरहेको हुन्छ, यस्ता घटनालाई अभियानसँग जोडेर भ्रामक प्रचार गर्नुहुँदैन ।” सोचेअनुसारको नतिजा नआएपछि जिल्लामा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ ।
अभियान सञ्चालन भइरहँदा जिल्ला अझै पनि करिब १३ प्रतिशत सो रोगका बिरामी रहेका छन् । यो अवस्थालाई हेर्दा जिल्लामा अझै पनि सो रोगको उच्च जोखिममा रहेको छ । सो रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ तर जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ ।

सरकारले सन् २०२० सम्ममा सो रोग निवारण गर्ने लक्ष्य लिए पनि सो रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हुँदै गएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई औषधि सेवन गराउन हुँदैन । रासस


Facebook Comment


थप समाचार