दर्ता नहुने केही ‘शहीदहरु’

448
Shares

प्राणघातक सङ्क्रमण
फैलिएको बेला होस् ,
वा जोखिमपूर्ण
अनेक अरु विपत्ती आओस्
उपचार सेवामा
तल्लिन् हुन्छन् तिनी,
थाह हुन्छ
जोखिम धेरै छ भनी,
तर निरन्तर सेवामा लागिरहन्छन् ।

संसार त्रासले उछिट्टिदा
डराउदैनन् तिनी ,
रोग सर्ने सन्त्रासले
पछि हट्दैनन तिनी,
नयाँ घातक रोगमा पनि
जोखिम लिन्छन् बचाउँन भनि ।

त्यो विपत्तीको क्षणमा ,
नव परिचीत बिरामी मानिस ,
तर उसको ज्यान तिनैले
आफ्नो जोखिम भन्दा,
महत्वपूर्ण सम्झन्छन्
कस्तो निस्वार्थ सेवा यो,
आफन्त कै भावना जस्तै
निश्चल निष्कपट मानवता यो।

विवेकशील मानिस तिनी
सेवा गर्दा गर्दै, त्यहिँ कारणले
मृत्युवरण गरे भने
यो सचेत मृत्यु भएन र ?

जोखिमको पर्वाह नगरी ज्यान गए
यी महान योद्दा भएनन् र ?

ठूलो संत्रास फैलेको बेला
निडर भई सेवा गर्दा,
यो वीरताको उदाहरण
भएन र ?

सम्मान छ महान योद्दामा जस्ले
देश र जनताको लागि आहुती दिए
तर अचम्म अनि दुखद कुरो,
सुनिन्छ सहिद को नाममा
आज यहाँ मनपरि भयो रे
दुर्घटना र कालगतीले मर्ने पनि
त्यहाँ सहिद दर्ता गरिए रे ।

ढड्डा पल्टाई नाम हेर्नुस्
यस्ता योद्दा परेनन् त्यहाँ
यसरी हालसम्म,
निस्वार्थ स्वास्थकर्मी योद्दाहरु
कोही ढलेनन् होला त यहाँ ?

तिनीहरुलाई,
पेसाकर्मी मात्र देख्दा
न्याय सायद हुँँदैन की
सेवाको एक विन्दुमा
पेसाकर्मी रहन्नन् ती ,
त्यतिबेला,
शून्यताको पेसा हुन्छ
धर्म मात्र बाँकी हुन्छ।।

कस्ले जान्ने होला त्यो,
न त शक्ति ,न त भक्ति
दर्ता त्यहाँ होलान् कसरी
ती सङ्ला नामका पङ्क्ति !

जानी राखौँ हुन्छन् मुलुकमा
यस्ता केही महान योद्दाहरु ,
त्यो ढड्डा किताबमा नअटेका
दर्ता नहुने केही ‘शहीदहरु’ !!

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *