जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई थप सुविधासम्पन्न बनाईने

तनहुँ, ४ माघ । सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई थप सुविधासम्पन्न बनाउने बताएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको केन्द्रको शुक्रबार निरीक्षणको क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले यस्तो कुरा बताएका हुन् ।

केन्द्रको आयोजनामा शुक्रबारबाट शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री ढकालले अस्पतालको विकासका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उपचार केन्द्रका लागि यथोचित दरबन्दी व्यवस्थापन गर्ने बताउँदै मन्त्री ढकालले भने, “जिपी कोइराला उपचार केन्द्रको भविष्य निर्माण गर्न सरकार गम्भीर छ ।” अस्पतालको स्वामित्वमा रहेको ७४० रोपनी जग्गा अतिक्रमण हुने खतरा बढेको आफूले जानकारी पाएको भन्दै उनले सरकारी जग्गा अतिक्रमण गर्ने कार्य सरकारलाई सह्य नहुने बताए ।

शुक्लागण्डकी नगरपालिकाप्रमुख किसान गुरुङले उपचार केन्द्रको विकासका लागि स्थानीय सरकारका तर्फबाट पनि सहयोग रहने बताए । शुक्रबारबाट शुरु भएको शिविर आइतबारसम्म सञ्चालन हुनेछ । शिविरमा श्वासप्रश्वास, स्त्री, बाल, नाक, कान, घाँटी, आँखा, हाडजोर्नीका विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिने उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।

सो २५ श्ययाको अस्पतालमा शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता सेवा लिन आउँछन् ।

दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *