पाँचौ ‘एपीक्याट’ सम्मेलन मंसिरको तेस्रो साता भरतपुरमा हुने

काठमाडौँ, १४ पुस । सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ शिखर सम्मेलन आगामी १६ देखि १८ मंसिर ( १ देखि ३ डिसेम्बर २०२०)मा चितवनको भरतपुरमा हुने भएको छ ।

भरतपुर महानगरपालिकाको आयोजनामा हुने उक्त सम्मेलनमा १५० बढी विदेशी सहित ३०० बढीको सहभागिता हुने बताइएको छ ।

सम्मेलनको मिति घोषणा गर्नु अघि आइतबार महानगरपालिकामा सर्वपक्षीय बैठक बसेको थियो । मेयर रेणु दाहालको अध्यक्षतामा बसेको बैठकले मिति घोषणासंगै महानगरलाई सूर्तिजन्य पदार्थ मुक्त बनाउने अभियानलाई समेत संगसंगै अघि बढाउने निर्णय गरेको छ ।

यसअघि गत असोजमा इन्डोनेसियाको बोगर सिटीमा सम्पन्न एपीक्याटको चौथो सम्मेलनले पाँचौ सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गरेको थियो । यद्धपी मिति तय भएको थिएन ।

आइतबारको बैठकमा बोल्दै भरतपुर महानगरपालिकाका मेयर दाहालले पाँचौ एपी क्याट सम्मेलन भरतपुरले आयोजना गर्नु पाउनु ठूलो अवसर भएको बताइन । उनले सम्मेलन सफल बनाई भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताइन ।

बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नतिजा आउने गरि एक वर्षमा महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा काम गर्ने कार्यक्रम अगाडि बढाउने बताए ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सूरक्षाका दृष्टिले सम्मेलन गर्न कुनै समस्या नभएको जानकारी दिए ।

द युनियन एसिया प्रसान्त क्षेत्रका उपमहानिर्देशक डा. तारासिंह बमले बढ्दो क्रममा रहेको नसर्ने रोगको जोखिम कम गर्न र नागरिक स्वस्थ बनाउने अभियानमा भरतपुर महानगरपालिकाको राम्रो प्रयास भएको भन्दै खुशी व्यक्त गरे । उनले एपीक्याटको सम्मेलनबाट बिभिन्न देशका नगरहरुका मेयरहरुबीच सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने अभियानका लागि अनुभव आदानप्रदान हुने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुस्करराज नेपाल र एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द, ले एपीक्याट सम्मेलनको पूर्व तयारीका विषयमा जोड दिए ।

एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, लाओस, लगायत १२ देशका ४० वटा नगरहरु सदस्य छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *