कुलमान घिसिङले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौँ, १२ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखा दान गर्नेहरुको सम्झनामा नेपाल आँखा बैंकद्धारा आयोजित सामुहिक श्रद्धान्जली सभामा घिसिङले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै घिसिङले भने ” बत्तीको उज्यालो आँखा भएन भने हेर्न सकिदैन । प्रकाशको उज्यालो हेर्न आँखा चाहिन्छ । त्यसैले आँखा एकदम महत्वपूर्ण विषय भयो । यो अत्यन्तै पूण्य कार्यमा बोलाउनुभएकोमा धन्यवाद दिन चाहन्छु । ”

कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले २५ वर्षअगाडि १ जनाबाट शुरु गरिएको आँखा दान कार्यक्रमममा आज हजारौको सहभागिता भएको भन्दै आँखा बैंकको टिमले शुरुदेखि मिहिनेत गरेर यहाँसम्म ल्याइपुर्याएको बताए । उनले अहिलेको स्थितिमा नेपालभरिनै केही मात्रामा पुग्ने आँखा दिन सकेको जानकारी दिए । आँखा दानमा सुनिने भ्रम चिर्दै उनले भने, हामीले बारम्बार भन्दै आएका छौ आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो । यसमा धार्मिक, सांस्कृतिक रुपमा अफ्ठेरो केही पनि हुदैन । मृत्युपश्चात झिक्ने हो ।”

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य रहेको बताइन ।

सभामा पशुपति विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, विर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद कुमार यादव, समाजसेवी तथा ३ नंं. प्रदेशका प्रान्तिय सदस्य नरोत्तम वैद्य, वि.पि नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा.मिनु चौधरी, लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथका अध्यक्ष डा. पवन शर्मा, नेपाल आँखा दान समाजका अध्यक्ष साधुराम महर्जनले आफ्ना मन्तव्य राखेका थिए ।

आँखादाताका आफन्तजन, आँखाको नानी प्राप्त गरि सुनौलो संसार देख्नुभएका महानुभावहरु, विभिन्न अस्पतालका निर्देशक, कर्मचारी र घाट सेवा केन्द्र पशुपति लगायत सम्बन्धित संघसंस्थाहरुबाट गरि १००० भन्दा बढीको सहभागिता रहेको थियो ।

यस कार्यक्रममा आँखाको नानी संकलन र प्रत्यारोपण गरी अन्धोपन निवारणमा योगदान दिने संस्था र व्यक्तिहरुलाई कदरपत्र पनि प्रदान गरिएको थियो । र प्रत्यक्ष अप्रत्यक्ष रुपमा आँखा बैंकको सेवालाई सहयोग गर्ने सम्बन्धित सबैलाई नेपाल आँखा बैंकका मेडिकल डाइरेक्टर डा. लिना बज्राचार्यले धन्यवाद ज्ञापन गरेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *