रुघाखोकीले स्वास्थ्यचौकीमा बिरामी बढ्दै, गाउँनै थला


सिमकोट, १२ पुस । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ ।

सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब ५०० घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ । जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन् ।

रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेव नर भण्डारीले जानकारी दिए । स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए।

उनले भने, “रुघाखोकी सरुवा रोग हो, ठेहेमा घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेको रोग गाउँमै फैलिएको छ ।” अहिले स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल सिमकोटबाट ल्याइएको औषधि विरतण गरिएको भण्डारीले जानकारी दिए । “स्वास्थ्यचौकीमा अहिले औषधि थोरै छ, बिरामीको चाप बढ्दै जाँदा औषधि पनि अभाव हुने देखिएको छ”, उनले भने ।

ठेहे स्वास्थ्यचौकीमा अहिले एक जना अहेव र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए । दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए ।

यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए । उनका अनुसार मौसमी रुघाखोकीले बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *