चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा लिनका लागि बाटो खुल्यो
काठमाडौँ, ३ पुस । स्वास्थ्य सेवा तर्फ रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनका लागि बाटो खुलेको छ । गत ३० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयद्धारा पेश भएको ‘स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७६’ स्वीकृत गरेसंगै करार सेवामा लिनका लागि बाटो खुलेको हो ।
संघीय निजामति ऐनले कुनै पनि समूहका रिक्त पदमा करार सेवामा कर्मचारी भर्ना गर्न नमिल्ने व्यवस्था गरेको छ । तर स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी र चिकित्सकको ठूलो संख्या करार सेवामा रहेको स्वास्थ्यलाई भने निजामती ऐनले अफ्टेरो परेको थियो । मन्त्रिपरिषदले अहिले त्यहि अफ्टेरो बुझेर नयाँ कार्यविधि मार्फत करार सेवालाई खुल्ला गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामति ऐनले रोकेको बाटो स्वास्थ्य समूहका लागि खुल्ला भएको टिप्पणी गरे । ‘स्वास्थ्यमा पहिले पनि करार सेवामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु लिने गरिएको थियो । तर संघीय संरचनामा लागू भईसकेपछि स्वास्थ्य ऐन खारेज भएको र आएको संघीय निजामती ऐनले करारमा लिने परिपाटीलाई रोक लगाएपछि समस्या भएको थियो । तर अहिले स्वास्थ्यलाई मात्रै करार सेवामा लिन सकिने गरी विशेष रुपमा बाटो खुल्ला गरिएको छ,’ श्रेष्ठले भने ।
समायोजन छिटो नसके स्थायी कर्मचारी बिचल्लीमा पर्न सक्ने !
करार सेवामा कर्मचारी भर्ना गर्न सक्ने नयाँ कार्यविधि पास भएसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कर्मचारी समायोजन छिटो टुंग्याउन पर्ने बाध्यता देखिएको छ । प्रवक्ता श्रेष्ठ भन्छन्, ‘अब पनि समायोजनमा ढिलाई भयो र कर्मचारी तोकिएका ठाँउमा पुगेनन् भने स्थानीय तहमा रहेका सम्वन्धीत कार्यालयले करारमा कर्मचारी राख्न सक्छ । स्थायी कर्मचारीकै बिचल्ली हुनसक्छ ।’
उनले स्वास्थ्यमा धेरै कर्मचारीको समायोजन भईसकेको र केही समायोजनका लागि विशेष नीतिगत निर्णय गर्नुपर्ने भएको समेत बताए । ‘यो कुरा मन्त्री ज्यूले बुझिसक्नु भएको छ । आशा गरौँ छिटै निर्णय हुन्छ,’ उनले भने ।
स्वास्थ्य करीब ७ हजार कर्मचारीको समायोजन टुंगिएको छैन ।
सम्पर्क इमेल : [email protected]
Form kaha bata varne? Ma Pani job garxu