प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौँ, १५ मंसिर । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

चिकित्सकहरुका अनुसार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ भने खाना खान र सामान्य हिडडुल गर्न समेत थालेका छन् ।

“प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए । कार्यकारी निर्देशक श्रेष्ठले भने “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”

अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ । घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *