टिचिङ अस्पतालले शुरु गरेको कलेजो प्रत्यारोपणबारे प्रधानमन्त्री ओलीको चासो
काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालले शुरु गरेको कलेजो प्रत्यारोपण सेवाबारे जानकारी लिएका छन् ।
त्रिवि शिक्षण अस्पतालले शुरु गरेको कलेजो प्रत्यारोपण सेवाबारे जानकारी गराउन गएको टीमसंग प्रधानमन्त्री ओलीले प्रत्यारोपण कार्यलाई दीगो बनाउन सरकारले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।
प्रत्यारोपणबारे जानकारी दिन शुक्रबार शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा रमेशसिंह भण्डारीको टोली बालुवाटार पुगेको थियो । सो अवसरमा डा भण्डारीको टोलीले त्रिवि शिक्षण अस्पतालमा सुरु भएको कलेजो प्रत्यारोपण र आवश्यक पर्ने उपकरण अनि जनशक्तिको विषयमा जानकारी गराएका थिए ।
त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण सुरु गरेकोमा प्रधानमन्त्री ओलीले खुशी व्यक्त गरेको र कलेजो प्रत्यारोपणका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएको डा भण्डारीले बताए ।
शिक्षण अस्पतालमा तीन जनाको कलेजो प्रत्यारोपण भएको छ। अस्पतालमा पहिलो पटक जेठमा कलेजो प्रत्यारोपण भएको थियो।
डा भण्डारीले कलेजो प्रत्यारोपण शुरु गरिसकेपछि निरन्तरताका लागि यसको यसको चुनौती बढेको भन्दै सरकारको थप सहयोग आवश्यक रहेको बताएका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



