डा. केसीलाई काठमाडौँ ल्याइने, वीर र टिचिङ अस्पताललाई तयारी अवस्थामा रहन भनियो

काठमाडौँ, २५ कात्तिक । सरकारले डडेल्धुरामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने भएको छ । त्यसका लागि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगिसकेको छ । यता वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ ।
‘डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै डडेल्धुरा अस्पतालले छिटो भन्दा छिटो स्थानान्तरण गर्न भन्यो । त्यसैले उहाँको जीवन रक्षाका लागि सरकारले काठमाडौँ ल्याउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । उनले ठूला सरकारी अस्पताल वीर र त्रिवि शिक्षण अस्पताललाई तयारी अवस्था रहन निर्देशन दिइएको समेत बताए । उनले धनगढीस्थित सेती प्रादेशिक अस्पतालसंग समेत समन्वय भएको बताए । ‘हाम्रो तयारी काठमाडौँ ल्याउने नै हो । तै पनि विकल्पको रुपमा धनगढीसंग पनि समन्वयमा छौँ ,’ उनले भने ।
उता डा केसीले डडेल्धुरा छाडन मानेका छैनन् । उनले आफूलाई जवरजस्ती गर्नुको सट्टा माग पुरा गरिदिए सरक्क उठेर जाने बताएका छन् । तर स्थानीय प्रशासनले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । बाहिर बजार क्षेत्रमा भने डा केसीका समर्थकहरुले प्रदर्शन शुरु गरेका छन् । केसीलाई लैजान नदिन भन्दै बाटो बन्द गराएका छन् ।
सात बुँदे अघि सार्दै गत १८ कात्तिक देखि डा केसी आफ्नो सत्रौँ अनसन डडेल्धुरामा शुरु गरेका थिए । शुरुमा निजी अस्पतालमा अनसन बसेका उनको स्वास्थ्य विग्रिएपछि डडेल्धुरा अस्पतालमा स्थानान्तर गरिएको थियो ।
तर अस्पतालले डा केसीको स्वास्थ्य अवस्था आफ्नो क्षमता भन्दा बाहिर गईसकेको भन्दै तत्काल सुविधासम्पन्न अस्पतालमा लैजान भनेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ