कोशी अस्पतालले एक सय शैय्याको बर्थिङ सेन्टर सञ्चालनमा ल्याउँदै

228
Shares

बिराटनगर, २५ कात्तिक । प्रादेशिक अस्पताल कोशीले दुई महिना भित्र १०० शैय्याको बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले भवन भाडामा लिएर नयाँ बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउन लागेको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन डा गुणराज लोहनीले अहिलेको संरचनाले सुत्केरी सेवा सञ्चालन गर्न गाह्रो भएको भन्दै छुट्टै संरचना तयार गरी बर्थिङ सेन्टर सञ्चालन गर्न लागेको बताए । ‘कोशीमा बार्षिक १० हजार बढी सुत्केरी सेवा लिन्छन् । त्यस हिसावले दैनिक औषत २७ जना भन्दा बढी भयो । सेवा त दिइएको छ तर निकै गाह्रो गरी, कहिले काँही त एउटै बेडमा २ ३ जना राख्नुपर्छ । यसैले यहि सेवा सुधार्नका लागि हामी तत्कालका लागि भवन भाडामा लिएर सेवा शुरु गरिहाल्छौँ,’ डा लोहनीले भने ।

उनले कोशी अस्पताललाई केही समय भित्रै उत्कृष्ठ स्वास्थ्य सेवा दिने राष्ट्रियस्तरको नमूना अस्पताल बन्ने बताए ।

यसैबीच स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महासङ्घ काठमाडौँले आइतबार यहाँ आयोजित प्रदेशस्तरीय नर्सिङ ‘मिडवाफ फ्री’ सेवासम्बन्धी नीति तथा संवाद कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नवजात शिशु र मातृ मृत्यु दर घटाउन र साधारण प्रसूतिको दर वृद्विका लागि नर्सिङ सेवालाई ‘मिडवाइफ’ सम्बन्धी विशेष तालीम दिनु पर्ने आजको आवश्यक्ता सहभागीहरुले बताए ।

कार्यक्रममा बोल्दै हरिनगरा गाउँपालिकाका प्रमुख गफ्फुर अन्सारीले यसक्षेत्रका महिलालाई गर्भवती भएदेखिनै पोषणसहितको स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको बताए ।

स्वास्थ्य कार्यालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, प्रदेश स्वास्थ्य सेवाप्रमुख सुरेश मेहता, अमृता पहाडी, बाला राई, रोशनी लक्ष्मी तइतुई, कविता पाण्डे, कृष्णप्रसाद भण्डारी र पदम सरदारले मिडवाइफमा लगानी गरेमा समुदायमा १६ गुणा प्रतिफल प्राप्त हुने धारणा व्यक्त गरे ।
कार्यक्रमबाट प्राप्त सुझावका आधारमा नर्सिङ मिडवाइफ फ्री सेवासम्बन्धी रणनीति तयार गर्न सहयोग पुग्ने उद्देश्यले सातै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपालमा मिडवाइफसम्बन्धी स्नातकोत्तर तहमा तीन विश्वविद्यालयले तीन स्थानमा विगत तीन वर्षदेखि अध्यापन गर्दै आइरहेका छन् । हाल नेपालमा ८९ हजार ८४५ नर्सिङ तथा अनमी दर्ता रहेका छन् । नेपालमा १८९ शिक्षण संस्थाबाट प्रतिवर्ष चार हजार सात सय नर्सिङ र एक हजार अनमी उत्पादन भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *