पूर्वखोला गाँउपालिकामा सुत्केरीको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घर घरमा
पाल्पा, २४ कात्तिक । स्वास्थ्य क्षेत्रमा नमुना काम गर्दै आइरहेको पूर्वखोला गाँउपालिकाले अब सुत्केरीको घर घरमा स्वास्थ्यकर्मी खटाउने भएको छ । प्रदेशकै पहिलो सून्य होम डेलिभरी गाँउ पालिकाको रुपमा ‘दर्ज’ पूर्वखोलाले त्यसलाई थप प्रभावकारी गराउन सुत्केरीको घरमा स्वास्थ्यकर्मी खटाउने भएको हो ।
गाँउपालिकाले सुत्केरीको घर घरमा नर्स र अनमीलाई खटाउने प्रोटोकल तयार गरेको छ । जस अनुसार स्थानीय बर्थिङ् सेन्टरमा सुत्केरी भएका महिलाको हकमा २४ घण्टा बर्थिङ् सेन्टरमै राखेर हेरचाह गर्ने र तीन दिन र सात दिनको दिन घरमै गएर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने छ । यदि कोही घरमै सुत्केरी भए पनि २४ घण्टा घरमै हेरचाह गर्न जानुपर्ने र तीन र सात दिनको दिन स्वास्थ्य परीक्षणका लागि जानुपर्ने व्यवस्था गरिएको छ ।
गाँउपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालले सुत्केरी र नवजात शिशुको स्वास्थ्य सम्वेदनशीलतालाई ध्यान दिदै घरमै स्वास्थ्यकर्मी पठाउने योजना शुरु गरिएको बताए । उनले भने, ‘नेपालमा हुने मातृमृत्यु तथा शिशु मृत्यु सबैभन्दा बढी सुत्केरी अवस्थामा हुने र त्यसबेलामा राम्ररी स्वास्थ्य जाँच गरी जटिलता पत्ता लगाउन सकियो भने त्यसरी हुने मृत्युदर घटाउन सकिन्छ । त्यसैले हाम्रो यो अभियानको उदेश्य पनि सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको जाँच गरी जटिलताका अवस्थाहरु समयमै पहिचान व्यवस्थापन तथा प्रेषण गरी मातृ तथा शिशु मृत्यु कम गर्ने हो ।’
स्वास्थ्यकर्मी सुत्केरीको घरमै खटाउन भन्दै गाउँपालिकाले तालिम, परामर्श र कर्मचारीलाइ भत्ताको समेत व्यवस्था गरेको छ । त्यसका लागि गाउँपालिकाले २ लाख रूपियाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।
यो कार्यक्रम अन्तरगर्त सुत्केरीको घर घरमा जाने स्टाफ नर्स तथा अनमीलाई २ सय देखि ५ सय रुपैयाँ सम्म यातायात खर्च दिइने बताइएको छ ।
यसैबीच गाउँपालिकाले नयाँ कार्यक्रम लागू गर्न छ वटै स्वास्थ्य संस्थाका कर्मचारीहरूका लागि गोष्ठी देवीनगरमा संचालन गरेको छ । सो गोष्ठीमा बोल्दै देवीनगरका वडाअध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष रिमप्रसाद श्रेष्ठले नयाँ अभियानले मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने योजनालाई साकार पार्ने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



