स्वास्थ्य बिग्रँदै गएपछि डा. गोविन्द केसीलाई अस्पताल सारियो

डडेल्धुरा २२ कात्तिक । स्वास्थ्यमा जटिलता थपिदैँ गएपछि अनसनरत डा गोविन्द केसीलाई डडेल्धुरा अस्पताल सारिएको छ । पाँच दिन अघि उनी अस्पताल नजिकैको निजी घरबाट अनसन शुरु गरेका थिए ।

अस्पतालका निर्देशक डा जितेन्द्र कंडेलले स्वास्थ्यका प्यारामिटरहर कमजोर देखिदै गएपछि केही बेर अघि अस्पताल सारिएको बताए । उनले भने, ‘हिजो अस्तिको तुलनामा किटोन बढ्न थाल्यो, सुगर लेभल निकै नै घट्यो । यो अवस्थामा बाहिर राख्न उचित लागेन । त्यसैले अस्पताल ल्यायौँ ।’

अस्पतालको एउटा कोठामा मोनिटर जोडेर स्लाइन सुरु गरिएको समेत उनले बताए ।

डा केसीलाई सकेसम्म छिटो सुरक्षित ठाँउमा लैजानुपर्छ : डा कँडेल
अनसन बसेको आज पाँच दिन भयो । उहाँको अवस्था दिन प्रतिदिन निकै नै खस्कदै गयो । त्यसैले उहाँलाई हामीले अघि साँझ यहाँ अस्पतालमा ल्यायौँ । अहिले एउटा मोनिटर जोडिएको छ । स्लाइन दिन सुरु गरिएको छ ।

यहाँको स्रोत साधनका कारण उहाँलाई यो भन्दा बढी गर्न सक्ने अवस्था छैन् । हामीले यहाँ ल्याएको पनि सकेसम्म छिटो सुविधासम्पन्न अस्पतालमा लैजान सकियोस भनेर नै हो ।

४० जना चिकित्सकको स्विकृत दरबन्दी हो यो अस्पताल । तर दरबन्दीका २ जना मात्रै छौँ । अरु २ जना करारका हुनुहुन्छ । ४ जना चिकित्सक छन् । यस्तै ३० जना नर्सको दरबन्दीमा करीब १५ जना अध्ययन विदामा हुनुहुन्छ । बाँकी १५ जनामध्ये अधिकांश समायोजनमा पर्नुभयो र बाहिरिनु भयो ।

यस्तै इमरजेन्सीका प्यारामेडिक्स पनि समायोजनमा परेर जानुभयो । यहाँ आनउनुपर्ने आईसक्नु भएको छैन । यस्तो जनशक्ति भएको ठाँउमा उहाँलाई कियर गर्न गाह्रो हुन्छ । त्यसैले ढिलो नगरी सुरक्षित ठाँउमा लैजानु पर्छ ।

यो कुरा मैले जिल्ला प्रशासन कार्यालयलाई पनि भनेको छु । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई पनि जानकारी गराएको छु । (कुराकानीमा आधारित )

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *