केएमसी पूर्व विद्यार्थी संघको आयोजनामा मुगुमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १५ असोज । केएमसी पूर्व विद्यार्थीहरुले कर्णाली प्रदेशको मुगु जिल्ला पुगेर एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । गत सोमबार जिल्लाको छायानाथ रारा नगरपालिका ५ कार्कीवाडास्थित नेपाल राष्ट्रिय आधारभुत माविमा उनीहरुले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

केएमसी एजुकेसन नेटवर्क र छायानाथ रारा नगरपालिका वडा नं ५ को संयुक्त आयोजनामा भएको उक्त शिविरका लागि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत चिकित्सकहरु पुगेका थिए ।

शिविरमा उनीहरुले स्वास्थ्य परीक्षणसंगै निशुल्क औषधि समेत वितरण गरेको संघका अध्यक्ष डा अच्युतशाली घिमिरेले बताए । उनका अनुसार शिविरमा ६०० बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

मौसमको प्रतिकुलता थियो तर हामीले काठमाडौँबाट चार दिन लगाएर, गाडी नपुग्ने उक्त क्षेत्रमा शिविर आयोजना गरयौँ । यसले जिल्ला अस्पतालको पहुँचमा नभएका छायानाथ नगरपालिका सम्पूर्ण बासिन्दाले स्वास्थ्य लाभ लिन पाएका छन्,’ डा घिमिरेले भने ।

छायानाथ रारा नगरपालिका वडा नं ५ का कार्यवाहक अध्यक्ष काली बहादुर रोकायाले यस्ता निःशुल्क शिविरहरुको आयोजनाले गरीब जनताहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने बताए ।

शिविरमा बाल रोग,नशा तथा हाडजोर्नी समस्या,छाला रोग,स्त्री तथा प्रसुती रोगका साथै अन्य जनरल चेकअप गरिर्एको थियो । परीक्षण गराएकामध्ये आवश्यकताका आधारमा विरामीहरुलाई निशुल्क औषधि बाँढिएको चिकित्सक टोलीका संयोजक डा पुरुषोत्तम अधिकारीले बताए ।

केएमसी पूर्वविद्यार्थी संघ केएमसी कलेज बागबजारबाट प्लस टु अध्ययन गरि देश विदेशमा रहेका चौधहजार भन्दा बढी दक्ष डाक्टर, इन्जिनीयर, सिए आदिको छाता संघ हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *