अध्ययन् भन्छ : ‘सिजेरिएन’ प्रक्रियाबाट आमा बनेकालाई अर्को पटक पनि शल्यक्रिया नै सुरक्षित

बीबीसी । एक पटक शल्यक्रिया गरेर सन्तान जन्माएका महिलाहरूका लागि अर्को पटक आमा बन्दा पनि सिजेरिएन भनिने शल्यक्रिया नै सबै भन्दा सुरक्षित विकल्प हुने एउटा अध्ययनले देखाएको छ।

तर एक पटक शल्यक्रिया गराइसकेका महिलाहरूले प्राकृतिक रूपमा बच्चा जन्माउने प्रयास गर्दा त्यसले सानै परिमाणमा भए पनि आमा र बच्चा दुवैमा समस्या ल्याउन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

स्कटल्यान्डमा ७४ हजार बच्चाको जन्मबारे गरिएको अध्ययनबाट यस्तो तथ्य फेला परेको बताइएको छ।

विज्ञहरूले गर्भवती महिलालाई प्राकृतिक रूपमा वा शल्यक्रियामार्फत् सन्तान जन्माउने दुईमध्ये एक विकल्प दिइनुपर्ने बताएका छन्।

शल्यक्रिया
बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रमले हालै गरेको एउटा अनुसन्धानले व्यवहारमा सधैँ त्यस्तो हुने नगरेको र शल्यक्रिया गरिदिन कैयौँ महिलाहरूले गरेको अनुरोधलाई चिकित्सकहरूले अस्वीकार गर्ने गरिएको उल्लेख छ। ‘सी सेशक्न’  विधिबाट सन्तान जन्माउँदा महिलाको पेट र गर्भाशय चिरेर शल्यक्रिया गर्ने गरिन्छ।

यो विधि 

  • ऐच्छिक वा योजनाबद्ध हुन्छ जसमा या त महिलाले अनुरोध गर्छन् या स्वास्थ्यको कारणले शल्यक्रिया गर्नैपर्ने अवस्था रहेको हुन्छ। यस्तोमा या त शिशु एकदमै ठूलो हुन्छन् या उनीहरू गलत किसिमले पाठेघरमा बसेका हुन्छन्
  • आपत्कालीन( जुन मुख्य रूपमा प्रसूतिको बेलामा देखिएका समस्याका कारण अवलम्बन गर्ने गरिन्छ।
    यूकेमा प्रत्येक चार बच्चा जन्मँदा एक जनामा शल्यक्रियाको विधि अपनाइन्छ। त्यसमध्ये आधा योजनाबद्ध वा ऐच्छिक हुन्छन् र आधा आपत्कालीन हुन्छन्।

कुन सुरक्षित: प्राकृतिक वा सी सेक्शन?

जुनसुकै विधि अपनाइएपनि बच्चा जन्मने प्रक्रियामा केही न केही जोखिम रहेको हुन्छ।

स्कटल्यान्डमा गरिएको अनुसन्धानमा पूर्वयोजनाअनुसार वा ऐच्छिक सी सेक्शन र प्राकृतिक विधिबाट बच्चा जन्माएका तर पहिला शल्यक्रियाको अनुभव भएका महिलाबीच तुलना गरिएको थियो।

त्यसबाट निम्न तथ्य प्रकाशमा आए :

  • ४५,५७९ महिलाहरूले सुरुमा योजना गरिएको शल्यक्रिया विधिबाट सन्तान जन्माए र २८,८६४ ले प्राकृतिक विधि नै अपनाए
    प्राकृतिक विधि अपनाएका मध्ये २८.४ प्रतिशतलाई आपत्कालीन रूपमा शल्यक्रिया गर्नुपरेको थियो
  • प्राकृतिक तरिकाले नै सन्तान जन्माउने कोसिस गरेका आमाहरूलाई पुन: अर्को शल्यक्रिया रोज्ने महिलाहरूको तुलनामा बच्चा जन्मिने बेला र जन्मिसकेपछि त्यससँग सम्बन्धित गम्भीर समस्याहरू देखिएका थिए
  • प्राकृतिक रूपमा सन्तान जन्माउनेमध्ये १.८ प्रतिशत र योजनाबद्ध रूपमा शल्यक्रिया गराएका ०.८ प्रतिशत महिलाहरूलाई प्रसूतिसँग सम्बन्धित जस्तै गर्भाशय चिरिने, रक्तश्राव वा सङ्क्रमण आदि समस्या देखिएका थिए
  • प्राकृतिक प्रसूतिको प्रयास गरिएकामध्ये ८ प्रतिशतमा नवजात शिशुमा समस्या देखिएको थियो भने पहिल्यै योजना गरेर शल्यक्रिया गरिएको अवस्थामा ६।४ प्रतिशतमा समस्या देखिएको थियो

रोयल कलेज अफ अब्स्ट्रेटिसिअन्स् एन्ड गाइनकोलजिस्ट्सका अनुसार अधिकांश अवस्थामा महिलालाई दुईमध्ये एक विकल्प दिनु सुरक्षित हुन्छ किनभने त्यससँग सम्बन्धित जोखिम कम रहन्छन्।

साधारणतया एक पटक शल्यक्रियामार्फत् सन्तान जन्माइसकेका महिलामा चार जनामध्ये तीन जनालाई प्राकृतिक रूपमा नै प्रसूतिको बेथा लाग्ने गर्छ र चार जनामध्ये एक जनालाई आपत्कालीन शल्यक्रियाको आवश्यकता रहन्छ।

योजनाबद्ध रूपमा नभई आपत्कालीन रूपमा नै सी सेक्शन गराउँदा बढी जोखिम रहेको हुनाले त्यसबारे महिलालाई जानकारी दिइनुपर्ने विज्ञहरूको धारणा छ।

लाभ र हानि
शल्यक्रियाबाट बच्चा जन्माएका महिलाहरूलाई ठिक हुन समय लाग्न सक्छ र त्यसमा सङ्क्रमण र शल्यक्रियाका कारण रगत नरोकिने खालका जोखिम पनि देखिन्छन्।

प्रत्येक पटक शल्यक्रिया गर्दा खत बस्ने तन्तुहरू देखा पर्छन् जसले सालनाल त्यो खत रहेको क्षेत्रसम्म फैलने र भविष्यमा हुने गर्भाधानमा समस्या निम्त्याउन सक्छ।

शल्यक्रियाबाट बच्चा जन्माउँदा नवजात शिशुलाई अस्थायी रूपमा सास फेर्न गाह्रो हुनसक्छ र गल्ती भएर काटिएर घाउ पनि हुन सक्छ।

प्राकृतिक रूपमा बच्चा जन्मिएको अवस्था लामो समय अस्पतालमा बस्नुपर्दैन।
आमाहरू चाँडै नै तन्दुरुस्त भएर दैनिक कामकाजमा फर्कन सक्छन्।

तर कहिलेकाहीँ त्यस क्रममा आमा बनेका महिलाको योनी र गुदद्वारको बीचमा रहेको छाला च्यातिनसक्छ।

त्यसबाहेक पहिला नै शल्यक्रियाबाट बच्चा जन्माएका महिलामा :

  • प्राकृतिक विधिबाट बच्चा जन्माउँदा त्यसले पहिले शल्यक्रिया गरेको स्थानमा दबाव बढाउन सक्छ जसका कारण त्यो चिरिने जोखिम रहन्छ। दुई सयमध्ये एक जना महिलामा त्यस्तो भएको भेटिएको छ
  • बच्चाको मस्तिष्कमा चोट पटक लाग्ने वा मृत बच्चा जन्मने जोखिम पूर्वयोजनाअनुसार शल्यक्रियाको अवस्थामा भन्दा प्राकृतिक रूपमा बच्चा जन्माउँदा बढी हुन्छ

निर्देशिकाहरूमा तीन पटक वा सो भन्दा बढी शल्यक्रिया गराएका महिलाहरूलाई प्राकृतिक विधिबाट प्रसूति नगराउन सुझाव दिइएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *