‘न्युट्रासिटिकल्स प्रडक्ट ! अर्थ र उद्योगविना के निर्णय गर्ने ?’

काठमाडौँ, ८ असोज ।  स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अर्थ र उद्योगको सहमति विना न्युट्रासिटिकल्स प्रडक्टका विषयमा निर्णय गर्नु हतार हुने बताएका छन् । उनले स्वास्थ्यले बनाएको औषधि ऐनले न्युट्रासिटिकल्सको विषयमा बोलिसकेको भन्दै थप बोल्ने पालो अर्थ र उद्योग मन्त्रालयको रहेको बताए ।

बुधबार विश्व फार्मासिस्ट दिवसको अवसरमा फार्मेसी एसोसिएशन अफ नेपाल, नेपाल फार्मास्यिुटिकल्स एसोसिएशन र हस्पिटल फार्मासिस्ट एसोसिएशन अफ नेपालको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री डा यादवले स्वास्थ्यले बनाएका कतिपय कानून अर्थ र उद्योगका कारण कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

राज्यमन्त्री डा यादवले भने, ‘कानून त हामीकहाँ थुप्रै बनेको छ । तर त्यसको कार्यान्वयन भएको छ कि छैन ? न्युट्रासिटिकल्सको बारेमा पनि स्वास्थ्यले कानून बनाइसकेको तर अर्थ र उद्योगका निकायहरुबाट त्यसको कार्यान्वनयमा समन्वय हुन सकेको छैन ।’

उनले कानूनको कार्यान्वयन गराउने दायित्व सरकारको भएपनि व्यक्ति स्वयंले पनि यसमा सहयोग गर्नुपर्ने बताए । ‘चिकित्सक भन्छ, प्रेस्काईव गर्छ ? आवश्यक हो कि होइन ? लेख्न मिल्ने हो कि होइन ? तर के के जति सुविधा हुन्छ भन्छन् । त्यसैले पो लेख्ने गरेको पो हो कि ?’  मन्त्री डा यादवले प्रश्न गरे ।

कार्यक्रममा डा अरुणा उप्रेतीले कतिपय चिकित्सकहरुले विरामीका लागि अनावश्यक रुपमा न्युट्रासिटिकल्स प्रडक्ट लेख्ने गरेको भन्दै आपत्ति जनाइन । उनले क्याप्सुल र ट्यावलेटमा बनाइने ती प्रडक्टको ध्येय व्यापार बढाउनु रहेको भन्दै गाँउ घरमै पाईने आटोपिठो र फलफुलले त्यो भन्दा राम्रो हुने बताइन ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले न्युट्रासिटिकल्स प्रडक्टहरु सिफारिस गर्नेमा चिकित्सकहरु २५ प्रतिशत र बाँकी ७५ प्रतिशत स्वयं मेडिकलहरु रहेको बताए । उनले अनावश्यक रुपमा यस्ता प्रडक्ट सिफारिस गर्न नहुनेमा आफूहरु सतर्क रहेको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाँईले पैसाको लोभमा कतिपय चिकित्सकले आहारपुरक बस्तु न्युट्रासिटिकल्स प्रडक्टको प्रेस्काईव गर्ने गरेको भन्दै त्यसो गर्न नपाईने बताए । ‘यसरी प्रेस्काइब गर्नु त चिकित्सकको गैरकानुनी काम हो । तर भै रहेको छ । विरामीको ढाड सेकिएको छ,’ उनले भने ।

कार्यक्रममा विवेक सिंह महतले न्युट्रासिटिकल्स प्रडक्टको बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *