सुत्केरीको मृत्युपछि स्वास्थ्य चौकीमा तालाबन्दी, लापरवाहीको आरोप

- नेपाली हेल्थ

सिन्धुली, १ असोज । दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले मंगलबार तालाबन्दी गरेका छन् । स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।

दुधौली नगरपालिका–२ रतनपुरकी २१ वर्षीया अनुषा कुमरलाई व्यथा लागेपछि सोमबार दुधौली नगरपालिका–१ हतपतेस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनले भर्नालगत्तै छोरी जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएपछि समयमै चिकित्सकसँग सल्लाह गरिएको अनुषाका आफन्त सुकदेव अधिकारीले बताए । “चिकित्सकले यहीँ ठिक हुन्छ भनेपछि हामी ढुक्क भयौँँ”, उनले भने।

रातिसम्म रक्तस्राव नरोकिएपछि अनुषालाई चिकित्सकले उपचारका लागि अन्यत्र लैजान आफन्तसँग आग्रह गरेका थिए । उपचारका लागि बर्दिवास लैजाने क्रममा राति अनुषाको बाटोमै ज्यान गएको हो ।

“समयमै अन्यत्र लैजान सुझाव दिएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो”, अधिकारीले भने, “चिकित्सको लापरवाहीले ज्यान गयो ।”

बिरामीका आफन्त र स्थानीयवासीले घटनाबारे छानबिन गर्न माग गरेका छन् । उनीहरुले स्वास्थ्य चौकीमा तालबन्दी गरेपछि सेवा प्रभावित भएको छ । रासस

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *