नरदेवी अस्पतालमा पायल्स तथा फिस्टुलाको लागि नयाँ शल्यक्रिया कक्ष

काठमाडौँ, २५ भदौ । नरदेवी आयुर्वेद अस्पतालले शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालले आजबाटै अकुपंचर, मोक्सिव्युसन तथा मर्म चिकित्सा सेवा समेत विस्तार गरेको छ ।

बुधबार स्वास्थ्य सचिव खगराज बरालले नयाँ कक्ष र सेवाहरुको उद्घाटन गरे ।

पायल्स तथा फिस्टुलाका बिरामीहरुका लागि क्षारसुत्र विधिबाट गरिने शल्यक्रियाका लागि यो नयाँ कक्ष तयार पारिएको अस्पतालका निर्देशक डा प्रदीप केसीले बताए ।

यस्तै अस्पतालले नियमित सेवामा थप सेवाहरुको रुपमा अकुपंचर, मोक्सिव्युसन तथा मर्म चिकित्सा सेवा विस्तार गरेको उनले जानकारी दिए ।

आयुर्वेद अस्पतालमा पायल्स तथा फिस्टुलाका बिरामीहरुको चाप दिनानुदिन बढी रहेको छ । यस्तै बाथ, हाडजोर्नी तथा प्यारालाइसिस भएका विरामीहरुका लागि अकुपंचर, मोक्सिव्युसन तथा मर्म चिकित्सा सेवा प्रभावकारी मानिएको छ ।

यसैबीच स्वास्थ्य सचिव बरालले नरदेवी अस्पताल आयुर्वेदिक उपचार पद्धतीलाई भरपर्दो र विश्वसनीय संस्थाको रुपमा विकसित हुनुपर्नेमा जोड दिए ।

अस्पतालको स्थलगत निरीक्षण पछि स्वास्थ्यकर्मी र कर्मचारीसंग छलफल गर्ने क्रममा उनले पहिलेको तुलनामा अस्पतालमा सुधार देखिए पनि अझ धेरै काम गर्न बाँकी रहेको बताए । उनले राजधानीमा रहेको आयुर्वेद तर्फको केन्द्रीय अस्पताल नमूनाको रुपमा विकसित हुनुपर्ने भन्दै त्यसका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

सो क्रममा अस्पतालका निर्देशक डा. केसीले अल्पकालिन र दीर्घकालिन योजना सुनाएका थिए । उनले अस्पताल सुधारका लागि मन्त्रालयले छुट्याउने बजेट निकै कम भएको भन्दै यसमा पुनराबलोकन गर्न सचिव समक्ष आग्रह गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *