भक्तपुरको दुवाकोटमा बन्छ कि बन्दैन् वीर अस्पताल ?

भक्तपुर १८ भदौ । काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल बिस्तार गरी भक्तपुरको दुवाकोटमा १ हजार ५ सय शैय्याको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ ।

चार वर्षअघि सरकारले वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर १ हजार ५ सय शैय्याको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने निर्णय गरेको थियो । कुल ५० अर्व लागतमा सो अस्पताल बनाउन चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो ।

तर अहिले आएर प्राविधिकहरुले उक्त अस्पताल बनाउने भनिएको ठाँउको माटो अनुपयुक्त भएको निस्कर्ष निकालेका छन् ।
चिनियाँ प्राविधिक टोलीको सो निस्कर्ष पछि अस्पताल निर्माणको काम अन्योलमा परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले तत्काललाई दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सरकारी योजना नरहेको बताए । चिनियाँ प्राविधिक टोलीले त्यहाँको माटो ठूलो भवन बनाउन उपयुक्त नभएकाले वीर अस्पताल नबन्ने निश्चित भएको जानकारी दिए । दुवाकोटमा १ हजार ५ सय शैय्याको अस्पतालसहित विभिन्न प्राज्ञिक तथा प्रशासनिक संरचना बनाउने गरी बृहत् गुरुयोजना बनिसकेको थियो ।

“चिनियाँ टोलीले दुवाकोटको जग्गा नै अनुपयुक्त भएको प्रतिवेदन दिएपछि रोकियो”, राज्यमन्त्री यादवले भने, “सोही प्रतिवेदनले गर्दा गत वर्ष सरकारले छुट्ट्याएको बजेट फ्रिज भएर गयो । ” उनले अन्यत्र ठाउँ खोजी वीर अस्पताल विस्तार गर्न सकिने बताए ।

तर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले समुद्रमाथि र तलसमेत मानिसको बस्ती बसिसकेको विश्वजगत्मा दुवाकोटमा अस्पताल बनाउन हुन्न भन्नु हास्यास्पद भएको बताए । उनले चिनियाँ पक्षले भौतिक पूर्वाधार नभएकाले पूर्वाधार विकास गर्न भनेको बताए । उनले सडक विस्तारका लागि नगरपालिकाले २५ करोड रुपियाँ छुट्ट्याएको समेत जानकारी दिए ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बाटो, माटोलगायतका समस्या भएको बताए । चीनले अस्पताल बनाउन उपयुक्त नदेखे नेपाल सरकारले बनाउन सक्ने भन्दै उनले अन्यत्र ठाउँ खोज्ने वा त्यहीँ बनाउने भन्ने टुङ्गोमा पुग्न नसकिएको बताए ।

सरकारले गत वर्ष नै वीर अस्पताल निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन बनाएर काम सुरु गर्न १५ करोड रुपियाँ छुट्ट्याएको थियो ।
सरकारले यो वर्ष पनि वीर अस्पताल निर्माणका लागि ४० करोड रुपियाँ विनियोजन गरेको छ ।

सरकारले चार वर्षअघि वीर अस्पताल विस्तारका लागि ५७० रोपनी जग्गा दिने निर्णय गरेको थियो । सो जग्गामा अस्पतालसहित, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान भवन, विज्ञान भवन, आवास, नर्सिङ क्याम्पसलगायतका संरचना बनाउने तयारी गरिएको थियो ।

  • आजको गोरखापत्रमा सरोज ढुंगेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *