चार बर्ष अघिको मुद्धा, तीस पटक पेशी, आज पनि स्थगित

काठमाडौँ, १६ भदौ ।  चार बर्ष अघि देखि सर्बोच्च अदालतको इजलासमा छिरेको जनस्वास्थ्य सम्वन्धी अति नै महत्वपूर्ण मुद्धा अहिलेसम्म किनारा लागेको छैन ।

सूर्तिजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चित्रअंकित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्नुपर्ने व्यवस्थालाई किन आलटाल गरियो भन्दै सरकार र सूर्ति उद्योगीलाई विपक्षी बनाई सर्बोच्चमा दायर रिट अहिलेसम्म किनारा नलागेको हो । यो मुद्धाको पछिल्लो पेशी आजका लागि तोकिएको थियो तर आज पनि स्थगित भयो ।

जन स्वास्थ्यको यो महत्वपूर्ण विषयमा निर्णय गर्न ढिलाई गर्दा यसको असर भने आम नेपालीमा पर्ने देखिन्छ ।

अधिवक्ता हुतराज कोइरालाले १५ भदौ २०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत ११, परफेक्ट ब्लेण्डस नेपाल प्रालि, श्रेष्ठ बिडी उद्योग प्रालि, विजार्ड फेग्नेन्स उद्योग प्रालि, देउकी गुटखा इष्डस्ट्रीज श्रीराम टोवाको उद्योग आदिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

तर, उनीद्धारा दायर रिटमा रिटमा १० पटक पेशी तोकिदा समेत मुद्धाको फैसला नभएपछि सूर्ति नियन्त्रण सम्वन्धी अभियानमा लागेको संस्था एक्सन नेपालले २ चैत २०७२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय समेत ५ वटालाई विपक्षी बनाई अर्को रिट दायर गरेको थियो ।

एक्सन नेपालका तर्फबाट अधिकारप्राप्त रामचन्द्र शर्माद्धारा दायर सो रिटमा १ जेठ २०७२ देखि कार्यान्वनयमा ल्याउने भनेर १३ कात्तिक २०७१ मै निर्णय भएको सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिंङमा चेतावनीमलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ तत्काल कार्यान्वयनका लागि माग गरिएको थियो ।

पछिल्लो पटक सर्बोच्चले यी दुबै मुद्धालाई एकै ठाँउमा राखेर पेशी तोक्ने गरेको छ । तर कहिले हेर्न नमिल्ने र कहिले स्थगित भन्दै मुद्धालाई पछिका लागि टार्दै लगिएको छ ।

कतिपयले यसो हुनुमा सुर्ती उद्योगको प्रभाव न्यायालयमा पनि परेको त होइन भनेर शंका गर्न थालेका छन् ।
हुन पनि अधिवक्ता कोइरालाले रिट दायर गरे यता ३० पटक पेशी तोकियो । अर्का अधिवक्ता शर्माले रिट दायर गरेयता २० पटक पेशी तोकियो ।

गत मंसिर २ मा वादि प्रतिवादिबीच बहस भएर सकिईसकेको थियो । २३ मंसिरलाई निर्णय सुनाउने दिन समेत तोकिएको थियो तर मुद्धाको इजलाशमा रहेका न्यायाधीश चोलेन्द्र शम्शेर जवरा प्रधान न्यायाधीश हुने भएपछि यो मुद्धा पुन सेलाएको थियो । १८ पुसमा उनी प्रधानन्यायधीश भए ।

फैसला सुनाउने अवस्थामा पुगेको मुद्धा अब शुरुबाट वहसमा लैजाने भनियो । त्यसपछि यो मुद्धा १ बैशाख २०७६ मा न्यायाधीशद्धाय हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासमा राखियो । १६ असार २०७६ मा अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी तोकिएको थियो । तर दुबैपटक हेर्न नमिल्ने भनेर पेशी स्थगित गरिएको थियो । १६ असारमा स्थगित भएको पेशी आजका लागि तोकिएको थियो तर आज पनि यो मुद्धाले ठाँउ पाएन । स्थगितमा परयो ।

बार्षिक २७ हजार बढी नेपालीको ज्यान जाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले ल्याएको कानून अटेरी गर्दै आएको स्वदेशी चुरोट उद्योग सूर्य नेपालको अगुवाईमा रिट हाल्ने र इस्युलाई डाइभर्ट गर्ने काम भएको जानकारहरु बताउँछन् ।

‘किनभने संसारभर नै सूर्ति उद्योगीहरुको अदालती प्रक्रियामा हार भएको छ । नेपालमा पनि हार हुने निश्चित जस्तै छ । त्यसैले केही समय लम्व्याउन खोजिएको हो । जनस्वास्थ्यको यस्तो सम्वेदनशील विषयमा सर्बोच्चले देखाएको ढिलासुस्तीले सूर्ति उद्योगीको प्रभावमा त परेन भन्ने प्रश्न गर्ने ठाँउ भने राखेको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *